काठमाडौँ, १७ चैत । राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाटको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई भाटभटेनीबाट लुटेर लगेको सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरूको पहिचान सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भई हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो, भारतको बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल रहेका छन् ।

त्यसैगरी सुनसरीको धरान घर भई हाल काठमाडौँ कोटेश्वर ३२ बस्ने एलिसा राई, कोटेश्वरको नरेफाँट बस्ने बालकुमारी कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८ घर भघ हाल कोटेश्वर बस्ने निर्मला कार्की, सिन्धुली तीनपाटन घर भई हाल कोटेश्वर बस्ने चित्र माया बस्नेत र सिन्धुली तीनपाटनकै चित्र माया बस्नेतलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेका ९ जनाको साथबाट प्रहरीले भाटभटेनीबाट लुटेर लगेको सामान समेत बरामद गरेको छ । यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका यी व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरीवृत बानेश्वरमा बुझाइएको छ । प्रहरीले अब उनीहरूको आपराधिक इतिहास र अन्य संलग्नता बारेमा थप जानकारी संकलन गर्दै अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।