जनकपुरधाम–जलेश्वर सडकमा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार, दर्जन बढि घाइते

जनकपुरधाम, १७ चैत । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा होलीका दिन हत्या भएका १७ वर्षीय आँशु यादवको हत्यारालाई कारबाही गर्न माग गर्दै आन्दोलनरत स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने लाठीचार्जबाट स्थानीय र प्रहरी दुबै पक्षमा दर्जनौं घाइते भएका छन् ।
आज बिहान जनकपुरधाम–जलेश्वर सडकखण्ड अवरुद्ध गरेर प्रदर्शनमा उत्रेका स्थानीयहरूले हत्यामा संलग्न दोषीहरूलाई पक्राउ गर्न माग गरिरहेका थिए । प्रहरीले सडक खुलाउन बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बन्दै गयो । झडपमा एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् भने केही प्रहरी पनि चोटग्रस्त भएका छन् । लाठीचार्जको क्रममा एक महिलाको टाउको फुटेको र उनी गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ ।
प्रहरीको लाठीचार्जपछि आक्रोशित भएका गाउँलेहरूले आक्रमण गरेपछि प्रहरीले पछि हट्दै अश्रुग्यास प्रहार गरेको थियो । झडपको क्रममा दुई महिला प्रहरी घटनास्थलमै फसेका थिए । उनीहरुलाई सञ्चारकर्मीहरूको सहयोगमा सुरक्षामा फर्काइएको थियो ।
होलीका दिन साँझ जनकपुरधाम–२३ विन्धीमा आँशु यादवमाथि छुरा प्रहार गरी हत्या गरिएको थियो । हत्याको मुख्य अभियुक्त धर्मेन्द्र महतो पक्राउ परे पनि घटनामा संलग्न भनिएका अन्य ६ जना अझै फरार छन् । स्थानीयहरूले किटानी जाहेरी दिए पनि प्रहरीले अन्य अभियुक्तहरूलाई पक्राउ नगरेको भन्दै आज बिहानैदेखि सडक अवरुद्ध गरेका थिए ।
प्रदर्शनकारीहरूले आरोपितहरू खुलेआम गाउँमै घुमिरहेको बताएर प्रहरीप्रति आक्रोश व्यक्त गरिरहेका छन् । उनीहरूले हत्यामा संलग्न सबैलाई तुरुन्तै पक्राउ गर्नुपर्ने माग गर्दै सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । मृतक आँशुकी आमाले आफ्नो छोराको न्यायको लागि दुइ छोरीसँगै ई–रिक्शामा मृतक छोराको पोस्टर टाँसेर सडकमा बसेकी छन् ।
सडक अवरुद्ध गरे पनि स्थानीयहरूले एम्बुलेन्स र अत्यावश्यक सेवा सञ्चालनमा कुनै अवरोध पुर्याएका छैनन् । तर, अन्य सवारी साधनहरूलाई भने पूर्ण रूपमा रोकेका छन् ।
पीडित परिवारको हेरचाह गर्ने घरमा अन्य पुरुष नभएको र न्यायको लागि गाउँलेहरूले साथ दिइरहेका छन् । आँशु यादवको हत्यामा संलग्न अन्य व्यक्तिहरू अझै पनि पक्राउ नपरेको भन्दै स्थानीयले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । प्रहरीका अनुसार फरार अभियुक्तहरूको खोजी जारी रहेको भए पनि हालसम्म उनीहरूको ठेगाना नखुल्नाले स्थिति झन् जटिल बनेको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


