जनकपुरधाम, १७ चैत । धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीका १९ वर्षीया आँशु यादवका परिवार र स्थानीयवासीले आइतबार बिहान ७ बजेदेखि जनकपुर–जलेश्वर सडक पूर्ण रूपमा अवरुद्ध गरेका छन् । उनीहरूले आवागमन ठप्प पार्दै आँशुको हत्या घटनामा संलग्न अन्य अभियुक्तलाई तुरुन्तै पक्राउ गर्न माग गरेका छन् ।

गत चैत २ गते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा आँशुमाथि स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरेका थिए । छुरा प्रहारले आँशुका छाती, ढाड र पेटमा गम्भीर चोट पुगेपछि उनलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । साँझ ६ बजे उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

धर्मेन्द्र महतो घटनास्थलमै पक्राउ परेका थिए । तर, आँशुको परिवारले अन्य व्यक्तिहरू पनि घटनामा संलग्न रहेको दाबी गर्दै उनीहरूलाई समेत पक्राउ गर्न माग गर्दै आएका छन् । प्रहरीले हत्यामा संलग्न अन्य अभियुक्तहरूलाई खोजी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कोही पक्राउ नगरिको भन्दै पीडित परिवारले अनिश्चितकालीन सडक अवरोध सुरु गरेका हुन् ।

यसअघि पनि गत बुधबार उनीहरूले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । त्यसपछि प्रहरीले थप अनुसन्धान गर्ने र दोषीलाई पक्राउ गर्ने आश्वासन दिएको थियो । तर, अझैसम्म कुनै प्रगति नभएपछि आँशुकी आमा र गाउँवासीले आक्रोशित हुँदै पुनः आन्दोलन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्या प्रकरणको अनुसन्धान जारी रहेको र दोषीलाई उम्किन नदिने आश्वासन दिएको छ । तथापि, पीडित परिवारले तत्काल न्यायको माग गर्दै सडकबाट सरकार र प्रहरी प्रशासनलाई दबाब दिने प्रयास गरिरहेका छन् ।