वीरगञ्जमा महिलाको शव फेला, अनुसन्धान तीव्र

वीरगञ्ज, १६ चैत । वीरगञ्ज महानगरपालिका–१६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिबार बिहान एक महिलाको शव फेला परेको छ । मृतकको पहिचान वीरगञ्ज–४ नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण अझै स्पष्ट भएको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको छ । जंगली जनावरको आक्रमण वा लडेर चोट लागेको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलको अवलोकन गर्दा प्रत्यक्षरूपमा कुनै ठोस प्रमाण नपाएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीको भनाइमा शवको अवस्था र घटनास्थलको परिस्थिति हेर्दा विभिन्न सम्भावना देखिएको छ । तर, शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो । घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय रहेको भए तापनि घटनाको समयमा कसैले कुनै गतिविधि देखेको जानकारी दिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले शवको अवस्था र देखिएका घाउका आधारमा अनुसन्धान जारी रहेको जनाएको छ । घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


