काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुने क्षेत्रस्थित राजवादी समूहको प्रदर्शन स्थलमा पत्रकार सुरेश रजकको शव फेला परेको छ ।

शुक्रवार दिउँसो आगजनी भएको एक घरमा शव भेटिएको पुष्टि गरिएको छ । उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले शवको पहिचान पत्रकार रजकको भएको जानकारी दिएका छन् ।

रजक एभिन्युज टेलिभिजनका पत्रकार थिए । उनी प्रदर्शन स्थलमा घटनाको दृश्य खिच्न गएका थिए । गृह मन्त्रालयले यसअघि प्रदर्शनका क्रममा एक अन्य व्यक्ति सविन महर्जनको मृत्यु भएको जनाएको छ । सविन कीर्तिपुर नगरपालिका–४ का बासिन्दा थिए । यस घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

राजवादी समूहद्वारा आयोजित प्रदर्शनको दृश्य खिच्न तीनकुने पुगेका रजक र अन्य पत्रकारहरूले प्रदर्शनको रिपोर्टिङ गरिरहेका थिए । प्रदर्शनको समयमा तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो ।