जनकपुरधाम, १४ चैत । मधेश प्रदेशले खेलकुदको क्षेत्रमा नयाँ युगको सुरुवात गर्दै प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा विजयी मधेश प्रहरी कार्यालयको क्रिकेट टिमलाई विशेष सम्मान गरेको छ ।

जनकपुरधामस्थित मधेश भवनमा आयोजित भव्य कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खेलकुदलाई प्रदेशको समग्र विकासको अभिन्न हिस्सा बनाउने सरकारको नीति सार्वजनिक गरे ।

प्रदेश सरकारले खेलकुद विकासका लागि अघि सारेका नयाँ योजनाहरू थिए । मुख्यमन्त्री सिंहले खेलकुद सम्बन्धी कानुनी ढाँचा तयार गर्ने कार्यलाई तीव्रता दिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षकहरूलाई सरकारी कर्मचारीको रूपमा नियुक्त गर्ने योजनाबारे जानकारी गराए ।

उनले प्रदेशभरका खेल गतिविधि प्रवद्र्धनका लागि खेलकुद सामग्री केही दिनभित्रै वितरण गरिने र खेल पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकतामा राखिएको बताए । प्रदेशभर रंगशाला र खेलमैदान निर्माणको कार्यलाई द्रुत गतिमा अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले पनि ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै आयोजना गर्ने महत्वाकांक्षी लक्ष्य रहेको बताए । उनले कर्णाली प्रदेशले रंगशाला निर्माणमा देखाएको उदाहरणलाई अगाडि सार्दै मधेश प्रदेशले अझ छोटो समयमा रंगशाला निर्माण गर्ने प्रतिवद्धता दोहोर्याए ।