राजतन्त्रको एजेन्डा बोकेर राप्रपाहरू राजनीतिमा : मन्त्री लेखी

सिरहा, १४ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले नेपालमा कुनै पनि हालतमा राजतन्त्रको पुनरुत्थान सम्भव नभएको बताएका छन् । उनले नेपालको वर्तमान लोकतान्त्रिक व्यवस्थालाई उत्कृष्ट मान्दै आगामी निर्वाचनले यसलाई थप पुष्टि गर्ने विश्वास व्यक्त गरे ।
बिहीबार सिरहाको लहानमा आयोजित पत्रकारिताको आचारसंहितासम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री लेखीले नेपालको राजनीतिक व्यवस्थाको स्थिरता र प्रगति जनताले आफैं हासिल गरेको उल्लेख गर्दै भने, ‘अहिलेको व्यवस्था नै उत्कृष्ट व्यवस्था हो ।’ उनले थपे, ‘राजतन्त्रको एजेन्डा बोकेर राप्रपाहरू राजनीतिमा छन् । तर, ५÷६ प्रतिशत नागरिकले पनि त्यसलाई पत्याएका छैनन् ।’
मन्त्री लेखीले राजतन्त्रको समयको सम्झना गर्दै भने, ‘निरंकुश राजतन्त्रको बेलामा राजाका अनुयायीहरूले जथाभावी काम गर्न पाउँदा अहिले भने नागरिक असन्तुष्टिको आडमा राजतन्त्रको हल्ला चलाइरहेका छन् ।’ उनले भने, ‘जनताले आफैं बलिदानपूर्ण संघर्षबाट संघीयता, समावेशीता, समानुपातिक निर्वाचन प्रणाली र अन्य महत्वपूर्ण उपलब्धिहरू ल्याएका छन् । यसको विपक्षमा कोही पनि छैनन् ।’
लेखीले नेपालको वर्तमान व्यवस्थामा जनताको सहभागिता सुनिश्चित गरिएको र मुलुकका सबै नागरिकका लागि समान अवसर भएको बताउँदै भने, ‘पहिले मुलुकमा एउटा वंशले राज गर्थे, अहिले जनताका छोराछोरीले देश हाँक्न पाएका छन् । यो व्यवस्था र संविधानले मुलुकका सबै नागरिकको सहभागिता सुनिश्चित गरेको छ ।’
मन्त्री लेखीले मुलुकमा गडबडी र बेथितिहरू देखा परेका कारण दलहरूले आफ्नो कार्यशैलीमा सुधार ल्याउन जरुरी रहेको बताए । उनले पत्रकारहरूलाई गडबडी र बेथितिका बारेमा निर्भीक भएर लेख्न आग्रह गर्दै भने, ‘पत्रकारहरूले गडबडी र बेथितिका बारेमा लेख्नुपर्छ । यसले व्यवस्थालाई अझ मजबुत बनाउन मद्दत गर्नेछ ।’