धनुषामा ‘हेल्दी स्कुल’ कार्यक्रम सुरु

जनकपुरधाम, १४ चैत । शिक्षा सुधारका लागि धनुषाको शहीदनगर नगरपालिका वडा नं ५ स्थित जयराम भक्त दलित राष्ट्रिय आधारभूत विद्यालयमा ‘हेल्दी स्कुल’ कार्यक्रमको आयोजन गरिएको छ । यस कार्यक्रमले सामुदायिक विद्यालयका भौतिक पूर्वाधार सुधार, शिक्षक प्रोत्साहन र बालबालिकाहरूलाई स्वास्थ्य परीक्षण तथा प्रविधि मैत्री अध्ययनको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
‘हेल्दी स्कुल’ कार्यक्रम जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य रामअशिष यादवको परिकल्पनामा थालिएको हो । धनुषा निर्वाचन क्षेत्र नं २ का ग्रामीण विद्यालयहरूमा यो अभियान प्रभावकारी हुँदै गएको छ । यस कार्यक्रमका माध्यमबाट विद्यालयको शैक्षिक स्तर सुधार गर्न र बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न प्राथमिकता दिइएको छ ।
कार्यक्रम अन्तर्गत जयराम भक्त दलित राष्ट्रिय आधारभूत विद्यालयका सम्पूर्ण बालबालिकाहरुलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा विद्यालयका चिकित्सक डा. निरन्जन कुमार गोईत, डा. कृष्णा पाल महतो र डा. संजीव यादवले बालबालिकाको स्वास्थ्य जाँच गरे । स्वास्थ्य परीक्षणको क्रममा केही बालबालिकामा दाँत, आँखा र कानसँग सम्बन्धित सामान्य समस्याहरू पाइएको र त्यसको उपचारका लागि औषधि वितरण गरिएको प्राधानाध्यापिका कविता ठाकुरले जानकारी दिइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामअशिष यादव, शहिदनगर नगरपालिका वडा नं ५ का अध्यक्ष सुरेश कापर, बिलट किसुन आधारभूत हठिपुरका प्राधानाध्यापक राजदेव ठाकुर, दलित समुदायका अगुवा नेताहरू बौएलाल महरा, रामदयाल सदा, राजदेव पासमान, स्वास्थ्यकर्मी रमेश पासमान, युवा नेता शितल साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनन्दन मण्डल र समाजसेवी राम एकबाल साह लगायतका प्रमुख व्यक्ति उपस्थित थिए ।
कार्यक्रमका संयोजक डा. गोईतले बताए अनुसार ‘हेल्दी स्कुल’ कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विद्यालयको शैक्षिक स्तरमा सुधार ल्याउनु, विद्यालयका भौतिक पूर्वाधारलाई सुधार गर्नु र विद्यार्थीहरुलाई मानसिक तथा शारीरिक रूपमा स्वस्थ राख्नु हो । यसका साथै, शिक्षकहरूको प्रोत्साहन र प्रशिक्षण पनि यस अभियानका महत्वपूर्ण पक्ष हुन् ।