सिरहा, १४ चैत । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर निवासी १७ वर्षीया किशोरी रिंकु सदाको मृत्यु प्रकरणमा संलग्न रहेका सिरहाका वडासदस्य नथुनी साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले उक्त आदेश दिएको हो ।

नथुनी साहमाथि रिंकु सदा प्रकरणमा पञ्चायत बसेर मिलापत्र गराउने र घटनामा संलग्न रहेको आरोप लागेको छ । उनलाई सिरहा कारागार पठाइएको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

घटनामा संलग्न रहेका अन्य प्रतिवादीहरू रामकृपाल मण्डल, विन्देश्वर साह, करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । रामविनोद मण्डल र कमलेश कुमार दासलाई साधारण तारेखमा रिहा गरिएको छ ।

सिरहामा घटेको यो जघन्य घटनामा जातीय छुवाछूत, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी र मिलापत्र गराउने अभियोगमा मुद्दा दायर गरिएको छ । बलात्कारको आरोप लगाउने किशोरी रिंकु सदा र शिकार बन्नु अघि गाउँमा पञ्चायत बसेर घटना दबाउने प्रयास गरिएको थियो ।

२९ माघमा गाउँमा पञ्चायत बोलाइने क्रममा रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना तिराउने निर्णय गरिएको थियो । तर, पीडित परिवारले यो निर्णय अस्वीकार गरेको थियो । रुपेशका बुवा देवानाथ मण्डलले पनि जरिवाना तिर्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको थियो ।

घटनाको छानबिन गर्न प्रहरी सक्रिय रहेको बताइएको छ । बलात्कार र अपहरणका मुख्य आरोपीहरू फरार रहेको र तिनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले पुष्टि गरेको छ ।

रिंकु सदा ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।