सर्लाही, १४ चैत । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई पार्टीको मर्यादा र अनुशासन उल्लंघन गरेको आरोप लागेको छ ।

उनीमाथि संघीय निर्वाचनदेखि हालसम्म अन्य विचारधाराका राजनीतिकर्मी र नेताहरूका कार्यक्रमहरूमा सहभागिता जनाउँदै पार्टी र प्रमुख नेताहरूलाई अनावश्यक आरोप र गालीगलौज गर्ने आरोप लगाइएको हो । पार्टीका केहि नेताहरूको भनाइ अनुसार यस्तो गतिविधिले पार्टीको नाम बदनाम गरिरहेको छ । संगठनलाई कमजोर बनाउने काम पनि गरेको आरोप लगाइएको छ ।

सर्लाही क्षेत्र नं.४ का क्षेत्रीय कार्यसमितिबाट यस विषयमा यथास्थित प्रमाणसहित उजुरी प्राप्त भएको हो । उजुरी प्राप्त भएपछि पार्टीले कौशल रायलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आग्रह गरेको थियो । तर, हालसम्म कुनै जवाफ प्राप्त भएको छैन । यसैले पार्टी अनुशासन समितिले दोहोर्याएर पत्र पठाउँदै तीन दिनभित्र स्पष्टिकरण प्रस्तुत गर्न निर्देशन दिएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका स्रोतका अनुसार मन्त्री रायको कार्यशैलीमाथि पटकपटक प्रश्न उठाइएको छ । समय समयमा उनलाई सचेत पनि गराइएको छ । तथापि, पार्टीको यस मुद्दामा ठोस जवाफ नआएका कारण अनुशासन समिति अब थप कारबाहीको तयारीमा छ ।