सप्तरी, १४ चैत । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था अत्यन्तै दयनीय रहेको पाइएको छ । विद्यालयमा आवश्यक आधारभूत सुविधाहरूको अभाव छ । ढोका, शौचालय, खानेपानी र डेक्स–बेञ्चको समेत सुविधा छैन । कागजी विवरणअनुसार २०६७ सालदेखि सञ्चालनमा रहेको यो विद्यालय अहिले निकै जर्जर अवस्थामा रहेको छ ।

यस विद्यालयमा तीन कक्षासम्मका विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक नरेशकुमार यादव र स्वयंसेवक शिक्षक सन्तकुमार यादव विद्यालयमा कार्यरत रहेका भए पनि विद्यालयको कार्यसम्पादन र उपस्थिति व्यवस्थापनमा समस्या रहेको स्थानीय बासिन्दाहरूको भनाइ छ । विद्यालयमा करिब ३०–४० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

गाउँका स्थानीय बासिन्दाहरूका अनुसार शिक्षकहरू कहिलेकाहीँ मात्र विद्यालयमा उपस्थित हुने गर्छन् । एक स्थानीयले भने, ‘१० बजेको समयमा विद्यालय सञ्चालन भएको कहिल्यै देखिएको छैन, शिक्षकहरू १०–१५ दिनमा मात्र आउने गरेका छन् ।’

यद्यपि, प्रधानाध्यापक नरेशकुमार यादवले आफू नियमित विद्यालय जाने दाबी गरेका छन् । उनले भने, ‘मैले विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ । भवन निर्माणसम्बन्धी कामका लागि गाउँपालिका जानुपर्ने भएकाले विद्यालय नगएको हुँ ।’

विद्यालयको वर्तमान अवस्था बुझ्ने क्रममा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले विद्यालयको स्थिति कागजमा मात्र सीमित भएको बताए । ‘विद्यालयमा कुनै पूर्वाधार नै नभएको पाइएको छ । यसलाई जीवन्त बनाउन दुई शिक्षक पठाइएको छ,’ उनले भने ।

विद्यालयको सुधारका लागि गाउँपालिकाले यस वर्ष १० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । विद्यालय भवन निर्माण कार्य छिट्टै सुरु हुने अध्यक्ष यादवले जानकारी दिए ।

‘विद्यालयमा खानेपानी, शौचालय र भवन केही छैन । अनुगमनका क्रममा १७–१८ जना विद्यार्थी भेटिएका थिए । विद्यालयको अवस्था सुधार्न आवश्यक पहल गर्दैछौं,’ उनले थपे ।

अध्यक्ष यादवले विद्यालयमा शिक्षकहरूको नियमित उपस्थितिका विषयमा गम्भीर ध्यान दिएका छन् । यससम्बन्धी कडाइका साथ कारबाही गर्ने बताउँदै गाउँपालिकाका अन्य सरकारी विद्यालयहरूको सुधारका लागि पनि निरन्तर अनुगमन गर्दै आवश्यक पूर्वाधार निर्माणको पहल भइरहेको जानकारी दिए ।