शुक्रवार कक्षा ८ को परीक्षा साढे २ बजे हुने

जनकपुरधाम, १४ चैत । जनकपुरधाम उपमहानगरपालिकाले मुस्लिम समुदायका विद्यार्थीहरूको धार्मिक उपासना र आवश्यकताको ध्यानमा राख्दै कक्षा ८ को परीक्षा समय परिवर्तन गरेको छ । शुक्रवार हुने कक्षा ८ को परीक्षा अब साढे २ बजे सञ्चालन हुने निर्णय गरिएको छ ।
यस अघि दिउँसो १ः३० बजे सञ्चालन हुने परीक्षा अब रमजान महिनाको अन्तिम शुक्रबार अर्थात् ‘अलविदा जुमा’ को अवसरमा साढे २ बजे गरिनेछ । उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै मुस्लिम समुदायका विद्यार्थीहरूले सामूहिक नमाज अदा गर्ने र यो दिनलाई ’सानो ईद’को रूपमा मनाउने भएकोले परीक्षा समय परिवर्तन गर्नुपर्ने निर्णय गरिएको जनाएको छ ।
परीक्षा समितिका सचिव धिरेन्द्र लाल कर्णले भने, ‘मुस्लिम समुदायका विद्यार्थीहरूका तर्फबाट २ः२० पछि परीक्षा समय सार्न अनुरोध गरिएको थियो । यस अनुरोधलाई आधारभूत तह परीक्षा समितिले अनुमोदन गर्दै परीक्षा समय २ः३० बजे तय गरेको हो ।’
यसले मुस्लिम विद्यार्थीहरूलाई रमजानको अन्तिम शुक्रबारको महत्वपूर्ण धार्मिक कार्यमा सहभागी हुन मद्दत गर्नेछ । उपमहानगरपालिकाले आगामी परीक्षा तालिकामा यस परिवर्तनको प्रभावलाई ध्यानमा राखी अन्य सबै व्यवस्थाहरूलाई अनुकूल बनाउने योजना बनाएको छ ।