काठमाडौं, १४ चैत । शिक्षक महासंघले आफ्ना माग पूरा नभएको भन्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय गरेको छ । महासंघले २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न भनेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘शिक्षकहरूले उत्तरपुस्तिका परीक्षा नगरी शैक्षिक सडक आन्दोलनमा आउनु हुन्छ । राज्यले माग पूरा नगरेकाले यो स्थिति आएको हो ।’ एसईई परीक्षा ७ चैतदेखि सुरु भई १९ चैतमा सम्पन्न हुँदैछ । अध्यक्ष सुवेदीका अनुसार नेपालमा ४ लाख शिक्षक कर्मचारी छन् । तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनमा सहभागी हुनेछन् ।

महासंघले २० चैतदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

शिक्षक महासंघले काठमाडौंमा प्रदर्शन गर्नका लागि शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । महासंघले प्रति शिक्षक कर्मचारी १०० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

महासंघले २० चैतदेखि सुरु हुने अनिश्चितकालीन आन्दोलनलाई अन्तिम र निर्णायक हुने बताएको छ । अध्यक्ष सुवेदीले भने, ‘शिक्षा ऐन जारी गर्न संसद र सरकारले काम गरेन, आन्दोलनबाट फैसला गरौं ।’

शिक्षक महासंघसँग सहजीकरण र वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । यद्यपि महासंघले उक्त समितिसँग वार्ता नगर्ने निर्णय गरेको छ । ‘यो कमिटिसँग बसेर समस्या समाधान नहुने भएकाले वार्तामा नबस्ने निर्णय गरेका छौं,’ सुवेदीले भने ।

यसै बीच, दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रमा शिक्षकहरूले रिले अनशन पनि गरेका छन् । १५ जना शिक्षकको समूह रिले अनशनमा बसेको हो । अहिले एसईई परीक्षा चलिरहेकाले १५ जनाको संख्यामा मात्र रिले अनशन भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।