रौतहट, १३ चैत । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन उल्लंघन गर्दै मापदण्डविपरीत अस्पताल सञ्चालन गर्ने एक निजी अस्पतालका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसादलाई बुधबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय शिवनगरका सई बब्लु कान्त झाको नेतृत्वमा नियन्त्रणमा लिइएको हो ।

मुख्यमन्त्री सिंहले केही दिनअघि आनन्द हस्पिटलको अनुगमन गरेका थिए । सो अस्पतालले मापदण्ड पूरा नगरेको पाइएको थियो । त्यसपछि उनले अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । तर, मुख्यमन्त्रीको आदेशलाई अटेर गर्दै मापदण्ड बिना नै पुनः अस्पताल सञ्चालन गरिएको भेटिएपछि सञ्चालक उमेश प्रसादलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको थियो ।

मुख्यमन्त्री सिंहको आदेश उल्लंघन गर्दै अस्पताल सञ्चालन भइरहँदा नियमनकारी निकायहरूको मौनता समाजमा आलोचनाको विषय बनेको थियो । सामाजिक सञ्जाल र मिडियामा आलोचना चुलिएपछि मुख्यमन्त्री सिंहले यस विषयमा कडा कदम चाल्न निर्देशन दिए । यसै क्रममा, रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेको नेतृत्वमा अस्पतालका सञ्चालकलाई पक्राउ गरिएको हो ।

मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगर्ने अस्पतालहरूले जनस्वास्थ्यमा गम्भीर खतरा पुर्याइरहेको उल्लेख गर्दै त्यस्ता अस्पतालहरूको तत्काल कारबाही गर्ने चेतावनी दिएका थिए । आनन्द हस्पिटलको केसले मात्र नभई अन्य निजी स्वास्थ्य संस्थाहरूको लापरवाहीले पनि जनताको स्वास्थ्य सुरक्षामा ठुलो जोखिम देखिएको छ । मापदण्ड पूरा नगर्ने कुनै पनि अस्पताललाई सञ्चालनमा अनुमति नदिइने सिंहको स्पष्ट निर्देशन रहेको छ ।