नगरपालिकाको बेवास्ताले वडाध्यक्षलाई धर्नामा धकेल्यो

जनकपुरधाम, १३ चैत । धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव आफ्ना बहुपक्षीय सुधारका मागहरू लिएर ४४ दिनदेखि नगरपालिकाको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका छन् ।
नगरपालिकाको शैक्षिक सुधार, कर्मचारी व्यवस्थापन र सरसफाइजस्ता आधारभूत सेवाहरूमा चरम लापरवाहीको विरोधमा वडाध्यक्ष यादवको धर्ना अहिले नगरपालिकाको राजनीतिक असफलताको प्रतीक बनेको छ ।
माघ २८ गतेदेखि निरन्तर धर्नामा रहेका वडाध्यक्ष यादवले शिक्षकको अभाव, कर्मचारी व्यवस्थापनको असक्षमता र सरसफाइ समस्याको समाधानको माग गर्दै नगर प्रमुख कारीराम यादवलाई पटक–पटक पत्राचार गरेका थिए । तर, नगरपालिकाले बेवास्ता गरेर समस्या समाधान नगर्नु भनेको नगर प्रमुखको असफलता र जनविरोधी प्रवृत्ति देखिनु हो ।
यादवले पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा यी मुद्दाहरू उठाए पनि कुनै प्रकारको छलफलसमेत नगरिएको भन्दै गम्भीर असन्तोष व्यक्त गरेका छन् ।
वडाध्यक्ष यादवका अनुसार सबैला नगरपालिकामा ७० भन्दा बढी शिक्षकको अभाव छ । यसले गर्दा विद्यालयहरूमा शैक्षिक गुणस्तर धरासायी अवस्थामा पुगेको छ । विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको कमीले पठन–पाठन ठप्प हुने स्थिति सिर्जना भएको छ । यादवले यो स्थितिलाई सुधार्नका लागि तत्काल शिक्षक नियुक्ति गर्न माग गरेका छन् ।
यादवको भनाइमा शिक्षक अभावले मधेश प्रदेशका विद्यार्थीहरूको भविष्यसँग खेलवाड भइरहेको छ । तर, नगरपालिकाले यो मुद्दालाई गम्भीरतापूर्वक नलिएको आरोप छ ।
वडाध्यक्ष यादवले वडा कार्यालयमा कम्प्युटर अपरेटर नहुँदा नागरिकले दैनिक सेवा लिन कठिनाइ खेप्नुपरेको बताए । कम्प्युटर अपरेटरको अभावले सरकारी कागजातहरू समयमै तयारी नहुनु, सेवा प्रवाहमा ढिलाइ हुनु र नागरिकको असन्तोष बढ्नु भनेको प्रशासनिक लापरवाहीको चरम उदाहरण हो ।
उनले वडा कार्यालयमा कर्मचारीको व्यवस्था गर्न बारम्बार माग गरे पनि नगरपालिकाले यो समस्या समाधान गर्न कुनै चासो नदेखाएको आरोप छ ।
वडाध्यक्ष यादवले सामाजिक सुरक्षाभत्ता वितरण प्रणालीमा सुधार गर्दै प्रत्येक वडामा पुगेर भत्ता वितरण गर्नुपर्ने माग गरेका छन् । साथै, राष्ट्रिय परिचयपत्र गाउँमै बनाएर वितरण गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ । तर, नगर प्रमुख कारीराम यादवले प्राविधिक समस्या र सुरक्षा कारणलाई देखाउँदै यी मागहरू व्यवहारिक नभएको तर्क गरेका छन् ।
सबैला नगरपालिका–९ का वडाध्यक्ष मनिषकुमार रायले वडाध्यक्ष सरोजकुमार यादवका मागलाई सही ठहर गर्दै आफ्नो पनि समर्थन जनाएका छन् । उनले भने, ‘यदि यादवको माग चाँडै सम्बोधन गरिएन भने म पनि वडा कार्यालय बन्द गरेर धर्नामा बस्न बाध्य हुनेछु ।’
पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा मागहरू उठ्दा पनि कुनै कदम नचालिनु भनेको नगरपालिकाको लापरवाही र जनविरोधी प्रवृत्ति रहेको उनको आरोप छ ।