सामान्य घटनालाई अतिरञ्जित तरिकाले प्रस्तुत गरियो : प्रअ मण्डल

जनकपुरधाम, १२ चैत । धनुषाको विदेह नगरपालिकास्थित गिद्धा बेलापट्टि उच्च माविका प्रधानाध्यापक पवन मण्डलले विद्यालयमा भएको सामान्य घटनालाई केही व्यक्तिहरूले सामाजिक सञ्जालमा अतिरञ्जित र भ्रामक तरिकाले प्रस्तुत गरेको बताएका छन् ।
गत चैत ८ गते गिद्धा उच्च माविका कक्षा ५ का एक विद्यार्थीले अर्का साथीमाथि डब्बल धारको कम्पास प्रहार गरेको घटनामा मिडियामा ’छुरा प्रहार’ भन्ने भ्रामक सूचना फैलिएको थियो । घटनाको वास्तविकता के हो भन्ने विषयमा प्रधानाध्यापक मण्डलले सामाजिक सञ्जालमा फैलिएको गलत जानकारीप्रति खेद प्रकट गरे ।
प्रधानाध्यापक पवन मण्डलले भने, ‘यो केवल एक सामान्य दुर्घटना थियो । कक्षा ५ का एक बालकले अर्का साथीलाई मजाकमा कम्पास चलाउँदा उनलाई चोट लागेको थियो । यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित र गलत तरिकाले प्रस्तुत गरिएको छ ।’
उनले थपे, ‘केही व्यक्तिहरूले विद्यालयको इज्जत र प्रतिष्ठामा धक्का पुर्याउन चाहने उद्देश्यले यस्तो भ्रामक सूचना फैलाएका छन् । यसले गर्दा विद्यालयको नाम र इज्जतलाई हानि पुगेको छ ।’
प्रहरी कार्यालय तिनकोरियाले पनि कुनै प्रकारको छुरा प्रहार नभएको स्पष्ट पारेको छ । प्रहरी चौकी प्रमुखले एक विद्यार्थीले अरूलाई कम्पास प्रहार गरेको र सो कम्पास घटनास्थलबाट बरामद गरिएको बताए ।
घाइते बालकका अभिभावकहरूले भने कुरकुरे चक्कु जस्तो केही सानो चक्कुले प्रहार गरिएको दाबी गरेका छन् । यद्यपि, प्रहरी र विद्यालयले त्यसलाई कम्पास प्रहारको घटना मानेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


