जनकपुरधाम, १२ चैत । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय भेदभाव र अछुतको आधारमा पीडित बनेका दीपक मल्लिकले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेटघाट गरेका छन् ।

मल्लिकले आफू र आफ्ना परिवारमाथि रहेको खतराको बारेमा मुख्यमन्त्रीलाई जानकारी दिँदै सुरक्षा र घरको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

मंगलबार बिहान दलित अगुवा र अन्य समर्थकसहित मल्लिक जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेका थिए । उनले मुख्यमन्त्रीसँग भने, ‘मलाई अदालतमा बयान बदल्न र मिलापत्र गर्नका लागि गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसहित बजरंगी बाबाद्वारा दबाब र धाकधम्की दिइएको छ । म लुकेर बस्न बाध्य भएको छु । मेरो परिवारको सुरक्षा खतरामा छ ।’

मल्लिकले स्थानीय प्रशासनले यस मामिलामा यथोचित कदम नचालेको र आफ्नो परिवारको सुरक्षाका लागि कुनै गम्भीर पहल नगरेको आरोप पनि लगाए । साथै, आफ्नो घर भत्काइएपछि आफूलाई बस्ने ठाँउको अभाव भइरहेको र त्यसको समाधानका लागि घरको व्यवस्थापन गर्न माग पनि गरे ।

मुख्यमन्त्री सिंहले मल्लिकलाई आश्वासन दिँदै भने, ‘तपाईंको सुरक्षा र घरको व्यवस्थापनका विषयमा पहल गर्नेछु । तपाईंको समस्यामा शीघ्र समाधान ल्याउने प्रयास गरिनेछ ।’

अघिल्लो महिना फागुन १० मा महायज्ञका नाममा मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाद्वारा डोजर लगाएर भत्काइएको थियो । मल्लिकले यस घटनाबारे जातीय भेदभाव र छुवाछुतसम्बन्धी कसुरको आरोपमा शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गरेका छन् ।

यस घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा छन् । बजरंगी बाबाको भने अझै खोजी भइरहेको छ ।