सिरहा, १२ चैत । गत फागुन २९ गतेदेखि हराइरहेकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा आज फेला परेको छ ।

सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी गुलशना खातुन २९ गते बिहान घरबाट निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । उनका परिवारले धेरै दिनसम्म उनलाई खोज्ने प्रयास गरेका थिए । अन्ततः उनको शव आज कुहिसकेको अवस्थामा फेला परेको छ ।

मंगलबार बिहान स्थानीय गोठालोहरूले झाडी र बुट्यान छेउबाट उग्र गन्ध आएको बताएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर घुर्मी खोला किनारमा तीन फिट गहिरो खाल्डो खनेपछि बोरामा बेरेको शव फेला पारियो ।

प्रहरी नायव उपरीक्षक शन्त बहादुर बाखुले शवको अवस्था अत्यन्त कुहिसकेको र पहिचान गर्न कठिन भएको जानकारी दिए । शवको अवस्था देखेर यसमा नुन हालिएको र लाश सडाउने प्रक्रियालाई तिब्र बनाउने उद्देश्य रहेको अनुमान गरिएको छ । कपडा र शरीरका केही अंशबाट उक्त शव गुलशना खातुनकै हुनसक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमको लागि सिरहा अस्पताल पठाइएको छ ।

गुलशना खातुनको शव फेला परेपछि उनका परिवार र गाउँका सबै सदस्यहरू शोकमा डुबेका छन् । गुलशनाकी आमा जाहेदा खातुनले यो घटना प्रहरीको उदासीनता र लापरवाहीको उपज रहेको आरोप लगाइन् ।

उनले भनिन्, ‘प्रहरीले हामीलाई बारम्बार आश्वासन दिएको थियो कि छोरीलाई चाडै खोजी गरी ल्याइदिन्छौं । तर, आज त्यो शव भेटिएपछि हामी स्तब्ध भएका छौं । यदि प्रहरी सही समयमा खोजी अभियानमा जुटेको भए मेरी छोरी आज जीवितै फेला पर्न सक्थिन ।’

खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । प्रहरी नायव उपरीक्षक बाखुले यस घटनामा अनुसन्धानलाई तीव्रता दिने बताएका छन् ।

उनले भने, ‘हाम्रा अनुसन्धानकर्ताहरूले अपराधीलाई पत्ता लगाउने प्रक्रिया अघि बढाइसकेका छन् । अब हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’