जनकपुरधाम, १२ चैत । जनकपुरधाम उपमहानगरपालिकाले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नक्सा बिना गरिएको कम्पाउण्ड वालको काम तत्काल रोक्न आदेश दिएको छ ।

प्रतिष्ठानले जनकपुरधाम–१३ स्थित जानकी मन्दिरको करिब १८ विघा जग्गा लिजमा लिएर कलेज भवन निर्माणको लागि कम्पाउण्ड वालको काम गर्दै आएको थियो । तर, नक्सा पास नगरी गरिएको कामको बारेमा जनकपुरधाम उपमहानगरपालिका र गुठी संस्थानको बेवास्ताले स्थानीयमा असन्तोष उत्पन्न भएको छ ।

उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले कानुनअनुसार सबैलाई बराबरी व्यवहार गरिने बताए । ‘कुनै पनि व्यक्ति विशेषलाई कानुनको उलंघन गर्न छुट छैन,’ मेयर साहले भने । ‘प्रहरीले नियम कानुनको पालना नगरीकन कसैलाई पनि काम गर्न दिँदैन । चाहे त्यो प्रतिष्ठान होस् या अरू कोही ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनकपुरधाम–१३ स्थित मणिमण्डपको पश्चिमतिर १८ विघा जग्गामा कलेज भवन निर्माण गर्न लिएको जग्गामा कम्पाउण्ड वाल बनाउने क्रममा दक्षिण, पश्चिम र उत्तरतर्फ बाटो छोडेको पाइयो । यसबाट स्थानीय जग्गाधनीहरूलाई फाइदा पुग्ने बताइएको छ । प्रतिष्ठानले जानकी मन्दिरको जग्गामा कम्पाउण्ड वाल बनाउँदै गर्दा यसरी बाटो छोडेको देखिएपछि स्थानीयबासीहरूले विरोध गर्दै गुठीको जग्गा जोगाउन उजुरी दर्ता गरेका छन् ।

स्थानीयहरूले गुठी संस्थान र प्रतिष्ठानबीच मिलोमतो भएको आरोप लगाएका छन् । उनीहरूले भने, ‘हामी गुठीको जग्गा बर्बाद हुन दिँदैनौं । गुठीको जग्गाको संरक्षण गर्ने हाम्रो दायित्व हो ।’

विवादमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा. अंकुर साह, रजिष्ट्रार विनोद यादव र शिक्षाध्यक्ष डा. रामनरेश पण्डितको पनि संलग्नता रहेको खुलासा भएको छ । उनीहरूले २०८१ फागुन १८ गते बसेको बैठकमा वडा नम्बर १३ का वडाध्यक्ष जीतबहादुर राउतसहितका स्थानीय नेताहरूको सहमतिमा उक्त बाटो खोल्ने निर्णय गरेका थिए । सोही बैठकमा एक दर्जनभन्दा बढी राउत परिवारका सदस्यहरू सहभागी थिए । उनीरूको जग्गा खोलिएको बाटोमा पर्दछ ।

स्थानीयहरूले गुठी संस्थानमा लिखित उजुरी दिए पनि गुठीले जग्गाको संरक्षणमा कदम नचालेको आरोप लगाइएको छ । गुठीका कर्मचारीहरूले प्रतिष्ठानलाई सम्पूर्ण जग्गामा कम्पाउण्ड वाल बनाउन मौखिक निर्देशन दिए तापनि बाटो छोडेरै कम्पाउण्ड वाल बनाइँदै आएको छ ।

यो घटनामा प्रतिष्ठानका उच्च अधिकारीहरूले आफ्नो निजी स्वार्थका लागि बाटो खोलेको र यसबाट उनीहरूले प्रत्यक्ष लाभ उठाएको आरोप स्थानीयहरूले लगाएका छन् । प्रतिष्ठानको निर्माण कार्य रोक्न उपमहानगरपालिकाले कडा आदेश जारी गरे पनि प्रतिष्ठानले नक्सा पास नगरी गरेको कामले कानुनी विवाद अझै गहिरिन सक्ने देखिएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनकपुरधामको स्थानीय सम्पत्तिमा गरेको गतिविधिले कानुनी र सामाजिक विवाद निम्त्याएको छ । यसको समाधान नहुँदासम्म प्रतिष्ठानको परियोजना अघि बढ्न कठिन देखिएको स्थानीयको भनाइ छ ।