मधेश प्रदेशसभामा दलहरूबीच छलफल, अवरोध हटाउने प्रयास जारी

जनकपुरधाम, १२ चैत । मधेश प्रदेशसभामा देखिएको अवरोध हटाउन दलहरूबीच मंगलबार बिहानबाट औपचारिक छलफल सुरु भएको छ । सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा प्रदेशसभा सचिवालयमा सत्तारुढ र विपक्षी दलहरूबीच भेटघाट भएपनि विवादित मुद्दाहरूको समाधानमा तत्काल सहमति जुट्न सकेको छैन ।
आइतबार बोलाइएको प्रदेशसभा बैठकमा विपक्षी दलहरूले मुख्यमन्त्री सतिशकुमार सिंहको विदेश भ्रमण, विकास योजनाको बिक्रीको आरोपलगायतका विषयमा छानबिनको माग गर्दै सभामा अवरोध गरेका थिए । विशेष गरी मुख्यमन्त्री सिंहको कूटनीतिक मर्यादा विपरीतको विदेश भ्रमणलाई लिएर विपक्षीले कडा आपत्ति जनाएका छन् । यस घटनाका कारण उत्पन्न अवरोधले प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन ।
बैठक १० मिनेटका लागि स्थगित गरेर मंगलबार बिहान ११ बजेको लागि पुनः बोलाइएको थियो । बैठकअघि नै सबै दलहरूलाई एकै ठाउँमा ल्याएर सभामुख मण्डलले संसदमा देखिएको अवरोध हटाउने उद्देश्यले छलफलको प्रक्रिया सुरु गरेका हुन् ।
छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंह, उपसभामुख बबिता कुमारी इशर, प्रमुख विपक्षी नेकपा एमालेका संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेकपा एसका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने, माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह, जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, रूपा यादवलगायतका प्रमुख नेताहरूको उपस्थिति छ ।
विपक्षी दलहरूले सत्तारुढ गठबन्धनसँग मुख्यमन्त्रीको विदेश भ्रमण र प्रदेशमा विकास योजनाहरूको बिक्रीबारे छानबिन नगरेसम्म संसद अवरुद्ध गर्ने आफ्नो अडान स्पष्ट पारेका छन् । उनीहरूले योजनाहरूको अनुचित वितरण, व्यक्तिगत स्वार्थमा विदेशी भ्रमण र प्रदेश सरकारको अपारदर्शी कामकारवाहीको विरोध गर्दै छानबिनका लागि दबाब दिँदै आएका छन् ।
सभामुख मण्डलको पहलमा सुरु भएको यो छलफलबाट केही नतिजा आउनसक्ने अपेक्षा गरिए पनि विपक्षी दलहरूको मागमा सरकारको जवाफदेहीता र छानबिन प्रक्रिया कति पारदर्शी हुनेछ भन्ने प्रश्न यथावत छ । छलफलमार्फत् संसदको अवरोध हटाउन सहमति खोज्ने प्रयास भए पनि दलहरूबीचको असहमति अझै समाप्त भएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


