हरिवनमा महिला बलात्कार प्रकरण : मुख्य अभियुक्त फरार, हाजिरी जमानी दिने महतो पक्राउ

सर्लाही, १२ चैत । सर्लाहीको हरिवन नगरपालिका–१ भोक्टेनीमा एक ४५ वर्षीया महिला आफ्नै छिमेकीबाट बलात्कृत भएको घटनाले स्थानीय समुदायलाई स्तब्ध पारेको छ । बलात्कार आरोपित व्यक्ति अझै फरार रहँदा घटनाको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २१ गते राति पीडित महिला एक्लै घरमा रहेकी बेला छिमेकी जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेका थिए । पीडितले भोलिपल्ट इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिँदै न्यायको माग गरेकी थिइन् । पीडितको उजुरीको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै अभियुक्त जिवछ महतोलाई सोही दिन नियन्त्रणमा लिएको थियो ।
घटनाको एक दिनअघि फागुन २० गते अभियुक्त जिवछ महतोकी आमाको निधन भएको कारण देखाउँदै हरिवन–४ सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि अभियुक्तलाई पुनः प्रहरी समक्ष उपस्थित गराउने सर्तमा हाजिरी जमानी लिएर छुटाएका थिए । तर, काज किरिया सम्पन्न भए तापनि जिवछ महतो प्रहरीले खोज्दा समेत उपस्थित नभई फरार भएका छन् ।
पीडित परिवारले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गर्दै घटनाको न्यायिक छानबिनको माग गरे । यद्यपि, अभियुक्त फरार भएपछि घटनालाई ढाकछोप गर्न खोजिएको परिवारको आरोप छ । केही स्थानीय नेताहरूले पीडित पक्षलाई १५ लाख रुपैयाँको आर्थिक प्रलोभन दिएर मिलापत्र गराउने प्रयास गरेको पनि परिवारले खुलासा गरेको छ ।
यसैबीच, प्रहरीले अभियुक्तलाई हाजिरी जमानीमा छुटाउने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ । अभियुक्त जिवछ महतो अझै फरार छन् भने पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी मुख्य अभियुक्तलाई चाँडै पक्राउ गर्न माग गरेको छ ।
प्रहरीले अभियुक्तको खोजी तीव्र बनाएको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


