जनकपुरधाम, चैत ११ । धनुषा जिल्लामा क्षयरोगको संक्रमण दरमा तीव्र वृद्धि देखिएको छ । सोमबार विश्व क्षयरोग दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले कोरोना महामारीपछिको अवस्थामा क्षयरोग महामारीजस्तै फैलिएको जानकारी दिए ।

यादवका अनुसार विगत ६ महिनामा मात्रै ७३४ जना नयाँ क्षयरोगी पहिचान गरिएको छ । यसले धनुषा जिल्लामा क्षयरोगको संक्रमण दर अन्य जिलाको तुलनामा अत्यधिक वृद्धि भएको संकेत गर्दछ ।

यादवले भने, ‘पर्सा जिल्लापछि धनुषा जिल्लामा क्षयरोगको संख्या बढी देखिएको छ । अहिलेको अवस्थामा क्षयरोगको महामारीको रुप लिँदैछ । यो एक गम्भीर चिन्ता हो ।’

यादवले कोरोना महामारीको प्रभावले क्षयरोग नियन्त्रणमा चुनौती उत्पन्न गरेको बताए । उनले सरकारका तीन तहहरू बीच समन्वयको कमी, औषधिको अभाव र बिरामीहरूको औषधि पूरा नलिने प्रवृत्तिलाई मुख्य कारणका रूपमा देखेका छन् ।

उनले भने, ‘सरकारले क्षयरोगको नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा सरकारी योजना र स्रोतको अभावले समस्या गहिरो बनाएको छ ।’

धनुषाका विभिन्न नगरपालिकामा क्षयरोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन भइरहेको भए पनि अन्य पालिकाहरूमा पनि नियमित खकार जाँच र डट्स प्रविधि मार्फत उपचार कार्य तीव्र गरिएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा जनकपुरधामस्थित जनस्वास्थ्य कार्यालयले जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको थियो । प्रभातफेरीमा विद्यार्थी, स्वास्थ्यकर्मी र विभिन्न सरकारी निकायका अधिकारीहरूले सहभागिता जनाएका थिए ।

धनुषा जिल्लामा क्षयरोगको संक्रमण दरको तीव्र वृद्धि स्वास्थ्य क्षेत्रका लागि एक गम्भीर चिन्ता बनेको छ । जनस्वास्थ्य अधिकारीहरूको भनाइ अनुसार क्षयरोगको रोकथाम र उपचारका लागि सबैको सहकार्यको आवश्यकता छ ।