जनकपुरधाम, ११ चैत । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले छानबिन गर्दै उनकी श्रीमती सिर्जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले यस घटनामा सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएका हुन् ।

‘हामीले हिजो नै सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं । आज म्याद थप गर्ने प्रक्रियामा छौं,’ उनले भने ।

शुक्रबार साँझ ५ः३० बजे शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वन क्षेत्रमा रेल्वे ट्र्याकको दक्षिणतर्फ करिब १०० मिटरको दूरीमा फेला परेको थियो । शवको अवस्था र प्रकृतिलाई हेर्दा हत्या धारिलो हतियारले गर्धनमा प्रहार गरी गरिएको अनुमान गरिएको छ । थप अनुसन्धानले शवलाई हत्यापछि घिसारेर अन्यत्र लैजान खोजिएको पुष्टि गरेको छ ।

शवको सनाखत आइतबार सम्पन्न भएको थियो भने शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जना र १० महिने छोरासहित बर्दिबास नगरपालिका–५ पशुपतिनगरस्थित ससुराली जान भन्दै निस्किएका थिए । तर, ससुरालीमा उनी नपुगेको जानकारी प्राप्त भएको छ ।

प्रहरीले घटनाको अनुसन्धानलाई अघि बढाउँदै शिवशंकरको हत्या कुनै रिसिबिका कारण भएको हुनसक्ने अनुमान गरेको छ । शिवशंकर केही समयअघि मुम्बईबाट धनुषा फर्किएका थिए । यस बीचमा ससुरालीमा विवाद समेत भएको थियो । घटनापछि हत्या प्रेमसम्बन्धसँग पनि जोडिएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानका अन्य कोणहरुमा समेत ध्यान दिइरहेको छ ।

शिवशंकरको भाइ राम महतोका अनुसार उनीहरू घरबाट महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेका थिए । त्यहाँ सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल मगाएकी थिइन् । एक मोटरसाइकलमा सिर्जना र बच्चा चढेका थिए भने अर्कोमा शिवशंकर थिए । प्रहरीले शिवशंकरलाई मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान गरिसकेको जनाएको छ ।

घटनाको सम्बन्धमा शिवशंकरको परिवारले केही दिन अघि ससुरालीमा भएको विवाद र कुटपिटको घटनालाई जोड्दै अनुसन्धान अघि बढाउन माग गरेको छ । परिवारका अनुसार सिर्जनाले ससुराली जान नचाहेका शिवशंकरलाई हजुरबुबाको मृत्यु भएको बहाना बनाएर जान बाध्य पारेकी थिइन् ।

प्रहरीले हाल अनुसन्धानलाई तीव्रता दिँदै विभिन्न सम्भावनाहरुको विश्लेषण गरिरहेको छ ।