पर्सा, १० चैत । मधेश प्रदेशका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले क्षेत्रीय खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अत्यन्त खराब रहेको बताएका छन् ।

मन्त्री यादवले उक्त कुरा आइतबार वीरगञ्जमा युनिसेफको सहयोगमा नेपाल सरकारको खानेपानी मन्त्रालयको खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आयोजित ‘खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रगत वितिय रणनीति तर्जुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम’को अवसरमा व्यक्त गरेका हुन् ।

मन्त्री यादवले मधेशका गाउँ–गाउँमा खानेपानी र सरसफाइको अवस्था निकै दयनीय रहेको भन्दै यसका प्रमुख कारण जनचेतनाको अभाव र जानीजानी गरेको गलत व्यवहारलाई जिम्मेवार ठहराए । उनले भने, ‘मधेशमा यो अवस्था सरकारको कमजोरी होइन । यो जनचेतनाको अभाव र बानी व्यहोराको कारण हो ।’

मन्त्री यादवले स्थानीय तहलाई स्वच्छता र सरसफाइको जिम्मेवारी दिँदै जनचेतना फैलाउन र गल्ती गर्नेलाई कारवाही गर्नको लागि स्थानीय सरकारलाई थप सक्रिय र गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री यादवले खानेपानी, सरसफाइ र स्वच्छता व्यवस्थापनका लागि नयाँ कानून ल्याउने तयारीमा रहेको जानकारी पनि दिए । उनले भने, ‘अहिलेसम्म कानूनी संरचनाको अभावले गर्दा प्रदेश सरकारले आवश्यक कार्यहरूलाई व्यवस्थित तरिकाले अघि बढाउन सकेको छैन । अब हामी एक नयाँ कानून ल्याउने तयारीमा छौं । यसका लागि खाका तयार भइसकेको छ ।’

यो नयाँ कानूनले खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा व्यवस्थित कार्ययोजना र नीतिहरू लागू गर्ने उद्देश्य राखेको छ । मन्त्री यादवले भने, ‘चाँडै नै यस कानूनको प्रारूप प्रस्तुत गरिनेछ । यसले क्षेत्रीय समस्याहरूको समाधान गर्न मद्धत पुर्याउनेछ ।’

कार्यक्रमको अध्यक्षता गर्दै बागमती प्रदेश खानेपानी विभागका सचिव मोहन शाक्यले खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा समन्वय र साझा प्रयासको आवश्यकता औंल्याए । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि कार्यक्रमको महत्व र समन्वयका बारेमा चर्चा गरे ।

कार्यक्रममा बागमती, कोशी, मधेश र गण्डक प्रदेशका ३२ जना प्रशिक्षार्थीहरूले भाग लिएका थिए । उनीहरूले क्षेत्रीय समस्याहरूको समाधानमा आफ्ना अनुभव र सुझाव प्रस्तुत गरे ।

कार्यक्रममा सहभागीहरूले खानेपानी र स्वच्छता व्यवस्थापनका लागि नयाँ कानूनी ढाँचा र अधिक प्रभावकारी कार्ययोजनाको आवश्यकता रहेको धारणा व्यक्त गरे ।