जनकपुरधाम, १० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक मन्दीका कारण अन्य क्षेत्रहरू जस्तै पत्रकारिता क्षेत्र पनि गम्भीर प्रभावित भएको बताउँदै पत्रकारहरूको वृत्ति विकासका लागि ठोस नीति आवश्यक रहेको बताएका छन् । उनले संघ सरकारले पत्रकारिता क्षेत्रलाई समृद्ध बनाउन नीति निर्माणमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री सिंहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा आयोजित ‘अनलाइन मिडिया, युट्यूव र पत्रकारिता क्षेत्रका समसामयिक चुनौतीहरू’ विषयक अभिमुखीकरण तथा छलफल कार्यक्रममा बोल्दै अनलाइन मिडिया र युट्यूवबाट पाठक तथा श्रोतामा भ्रम सृजना हुने समाचार सम्प्रेषण भएकोमा चिन्ता व्यक्त गरे । उनले मुलुकको आर्थिक सबलीकरण र सुशासनको लागि पत्रकारिताले जिम्मेवार ढंगले काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले विश्वसनीय पत्रकारिताको आवश्यकता औंल्याउँदै पत्रकारहरूले पाठकको विश्वास जित्न जिम्मेवार भएर काम गर्नुपर्ने बताए । भुजेलले विश्वसनीय समाचार नदिने सञ्चार माध्यमले अन्ततः जनताको साथ गुमाउने चेतावनी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौलाले पत्रकारिताको गुणस्तर सुधार्नका लागि नीतिगत र कानूनी सुधारको आवश्यकता रहेको बताए ।

नेपाल प्रेस काउन्सिलका उप प्रशासकीय अधिकृत रहमतुल्ला मियाँले युट्यूवको तीव्र वृद्धिले परम्परागत मिडियालाई दबाब दिएको र यसले पत्रकारहरूको काम गर्ने तरिकामा परिवर्तन आएको बताए । उनले युट्यूवको कारण पत्रकारहरूले लेख्न कन्जुस्याइँ गरेको र यसले देशको प्रचलित कानुनमा पनि प्रभाव पारिरहेको धारणा राखे ।

कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले मधेशमा पत्रकारिताको ईतिहास लामो नभए पनि पछिल्लो दशकमा यसले ठूलो फड्को मारेको बताए । उनले मधेशका स्थानीय मुद्दाहरू—जस्तै भूमि, पहिचान र अधिकार—पत्रकारितामा प्रमुख विषय बनेको उल्लेख गर्दै स्रोतको कमी, प्रशिक्षणको अभाव र सुरक्षा जोखिमले पत्रकारहरूलाई चुनौती दिएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्णले छिमेकी देश भारतको उत्तर प्रदेश सरकारले युट्यूवरहरूलाई पनि वार्षिक रूपमा आर्थिक सहयोग प्रदान गर्दै आएको जानकारी गराउँदै नेपालमा पनि यस्तो पहल हुनुपर्ने माग गरे । धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले राम्रा र आकर्षक कन्टेन्टको आवश्यकता रहेको धारणा राखे ।

कार्यक्रममा विभिन्न विशेषज्ञहरूले पत्रकारिता क्षेत्रमा सुधारका उपाय र अनलाइन मिडियाको भविष्यबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।