जनकपुरधाम, १० चैत । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे बचाउनका लागि पुनः आन्दोलनको घोषणा गरेको छ ।

अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।

अभियानका केन्द्रीय संयोजक सुनिलकुमार यादवले चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रत्यक्ष प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिने जानकारी दिए । यस यात्राको क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ ।

चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवनअगाडि अनिश्चितकालीन विरोध कार्यक्रम सुरु गर्ने पनि संयोजक यादवले जानकारी दिए । त्यसअघि मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने उनले बताए । यो विरोध कार्यक्रमको उद्देश्य चुरे क्षेत्रको वन विनाश रोक्न तथा दीर्घकालीन समाधानका लागि दबाब सिर्जना गर्नु रहेको संयोजक यादवले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनले अभियानको केन्द्रीय अध्यक्षमा पुनः सुनिलकुमार यादव (बारा)लाई सर्वसम्मत रूपमा चयन गरेको छ भने उपाध्यक्ष पदमा सुक्रिती आर्चाय (भक्तपुर) र राजेश भण्डारी (सर्लाही) चयन भएका छन् । महासचिवमा बासुदेव डल्लाकोटी (धादिङ)लाई चयन गरिएको छ भने सचिव पद हाललाई खाली राखिएको छ । कोषाध्यक्ष पदमा नन्दकिशोर राम (रौतहट)लाई चयन गर्दै २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ ।

साथै, अभियानको प्रवक्तामा प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा दीपक कुमार कर्ण चयन भएका छन् । महासचिव बासुदेव डल्लाकोटीको नेतृत्वमा बाँकी रहेका प्रदेश तथा जिल्ला समितिहरू जेष्ठ मसान्तभित्र गठन गरिने निर्णय पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

चुरे क्षेत्रका वनजंगलको संरक्षणका लागि विगतदेखि नै संघर्षरत अभियानले यसपटकका आन्दोलनहरूलाई थप सशक्त बनाउँदै दीर्घकालीन समाधान खोज्नका लागि सरकारलाई दबाब दिने उद्देश्य राखेको छ ।