जनकपुरधाम, १० चैत । धनुषाबाट ससुराली जान हिँडेका २५ वर्षीय एक युवकको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

महोत्तरीको गौशाला नगरपालिका-८ स्थित सागरनाथ वन क्षेत्रमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका रामदुलार महतोका छोरा शिवशंकर महतोको फेला परेको हो ।

पारिवारिक स्रोतका अनुसार उनी केही दिनअघि आफ्नी श्रीमती भेट्न ससुरालीतर्फ गएका थिए। तर, त्यहाँ नपुगी अपहरणमा परेका शिवशंकरको शव महोत्तरीमा भेटिएको हो ।

शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका-८ स्थित सागरनाथ वन क्षेत्रमा रेल्वे ट्रयाकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुग्दा शव क्षत-विक्षत अवस्थामा थियो । प्रारम्भिक अनुसन्धानमा उनको हत्या अत्यन्तै निर्मम ढंगले गरिएको खुलेको छ।

महतोको अपहरण गरी हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरी स्रोतका अनुसार उनी ससुराली जाने क्रममा हराएका थिए । परिवारका सदस्यहरू तथा स्थानीयले खोजी गरिरहँदा उनको शव परालले छोपिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार घटनास्थल नजिकै रगतका दाग फेला परेका छन् । शवमा गहिरा घाउहरू रहेको र निर्मम तरिकाले प्रहार गरिएको देखिएको छ। हत्या कुनै आपराधिक गिरोहले वा पुरानो रिसइवीका कारण गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घटनाबारे विस्तृत अनुसन्धान गर्न प्रहरी टोली खटिएको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।