नेपाल साँस्कृतिक महासंघ धनुषाको तेस्रो अधिवेशन सम्पन्न

जनकपुरधाम, ९ चैत । नेपाल साँस्कृतिक महासंघ धनुषाको तेस्रो अधिवेशनको उद्घाटन समारोह शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन सत्र धनुषाका अध्यक्ष अनिल कुमार मिश्रको अध्यक्षता र नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पंजियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पंजियारले संस्कृति संरक्षण र प्रवद्र्धनमा महासंघको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘हाम्रो संस्कृति हाम्रै पहिचान हो । यसको संरक्षण र समृद्धि हाम्रो दायित्व हो । महासंघले यसमा सधैं अग्रसर रहनुपर्छ ।’

उद्घाटन समारोहमा नेपाल प्रजातन्त्र सेनानी संघका प्रदेश अध्यक्ष राम भरत साहले नेपालको सांस्कृतिक विविधता र यसले राष्ट्रिय एकता कायम गर्न खेलेको भूमिकामाथि प्रकाश पारे ।
साँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष, महासचिव, बागमती प्रदेश संयोजक र मधेश प्रदेशका सभापति जीवनाथ चौधरीले पनि सांस्कृतिक क्षेत्रमा सक्रियताको महत्त्वबारे आफ्ना विचार राखे । चौधरीले भने, ‘सांस्कृतिक विविधता हाम्रो धरोहर हो । यसलाई प्रवद्र्धन गर्न महासंघले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।’
कार्यक्रममा सुप्रसिद्ध गायक सुनील मल्लिकले नेपाली संगीत र संस्कृतिको प्रवद्र्धनमा कलाकारहरूको भूमिका स्मरण गर्दै भने, ‘संस्कृतिको संरक्षण हाम्रो जिम्मेवारी मात्र होइन, यो हाम्रो पहिचानको गहना पनि हो ।’

बन्द सत्रबाट सर्वसम्मत रूपमा अनिल कुमार मिश्रको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । उपसभापतिमा ललित कामत र भारती चौधरी, सचिवमा रूबी पाठक, सह–सचिवमा अस्मिता रानी ठाकुर तथा कोषाध्यक्षमा मनिका साह चयन भएका छन् ।
कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारीहरू, विभिन्न स्थानीय निकायका संयोजक, पार्टीका भातृ संगठनका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमितिले आगामी दिनमा सांस्कृतिक जागरणका अभियानहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


