गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि ‘कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एसोसिएशन’

जनकपुरधाम, ९ चैत । जनकपुरधामको शैक्षिक वातावरणलाई व्यवस्थित र सुदृढ बनाउन कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एसोसिएशन गठन गरिएको छ ।
जनकपुरधामका प्रमुख कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरूको छाता संगठनको रूपमा गठन भएको यस एसोसिएशनको अध्यक्षमा सत्यम कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका प्रमुख सत्यम यादव चयन भएका छन् । एसोसिएशनले दर्ता भएका कोचिङ्गहरूलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले एसोसिएशनले गैरकानुनी तरिकाले सञ्चालन भइरहेका कोचिङ्ग सेन्टरहरूलाई रोक्न आवश्यक पहल गर्ने बताए ।
उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गर्न र शिक्षालाई व्यवस्थित बनाउन हामीले सबै कानूनी प्रक्रियामा आधारित रहेर कोचिङ्ग सञ्चालन गर्नुपर्छ । अवैध रूपमा सञ्चालन भइरहेका कोचिङ्गहरूलाई कानूनी ढाँचामा ल्याउन एसोसिएशनले काम गर्नेछ ।’
पत्रकार सम्मेलनमा बोल्दै डकटेक एजुकेशनका संजय साहले जनकपुरधामको शैक्षिक माहौललाई सुधार गर्न एसोसिएशनको गठन गरिएको उल्लेख गरे । उनले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई सक्षम बनाउन र यहाँको शैक्षिक जगलाई मजबुत पार्नु हो । यो एसोसिएशनले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि एकताबद्ध रूपमा काम गर्नेछ ।’
यस्तै, एम्स कोचिङ्गका आर्यन साहले एसोसिएशनको मुख्य उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनु रहेको बताएका छन् । उनले भने, ‘हाम्रो योजना जनकपुरलाई शिक्षाको हबका रूपमा विकास गर्नु हो । यहाँका विद्यार्थीहरूलाई समर्पित र व्यवस्थित शिक्षा दिनका लागि हामीले यो एसोसिएशन गठन गरेका छौं ।’

हालसम्म एसोसिएशनमा ४२ वटा कोचिङ्ग सेन्टर आबद्ध भइसकेका छन् । जनकपुरधाममा कुल ८० वटा कोचिङ्ग सेन्टरहरू सञ्चालनमा रहेका छन् । एसोसिएशनमा आबद्ध कोचिङ्गहरूमा १० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि एसोसिएशनले शिक्षा क्षेत्रको सुधारका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । एसोसिएशनले भविष्यमा कोचिङ्गहरूलाई व्यवस्थित गर्न र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


