सिरहा, ८ चैत । सिरहाको औरही गाउँपालिकामा महायज्ञको नाममा दलित परिवारमाथि गरिएको ज्यादतीको घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् ।

दुवै जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले पुष्टि गर्दै भने, ‘उनीहरूलाई नियन्त्रणमा लिइएको छ । अहिले सोधपुछ भइरहेको छ । शनिबार पीडित परिवारसँग जाहेरी लिने प्रक्रिया अघि बढ्नेछ ।’

यो घटना सिरहाका स्थानीय समाजका लागि गम्भीर मुद्दा बनिसकेको छ । महायज्ञको तयारीका क्रममा दलित परिवारको घर भत्काउने र उनीहरूलाई स्थानान्तरण गर्ने विवादले जातीय भेदभाव र प्रशासनिक दमनको गम्भीर आरोप लगाएको थियो । स्थानीय समाज र मानव अधिकार संस्थाहरूले उक्त घटनामा संलग्न व्यक्तिहरूको कडा कारबाहीको माग गरिरहेका छन् ।

दुवै जनाले महायज्ञ स्थलको निकट रहेका दलित परिवारको घर भत्काउन प्रशासन र महायज्ञ आयोजक समितीसँग मिलेर काम गरेको आरोप छ ।

प्रहरी प्रमुख आचार्यले भने, ’पक्राउ गरिएका दुवै व्यक्तिहरूसँग सोधपुछ जारी छ । घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि कारबाही गरिनेछ ।‘