२०८४ सम्म प्रधानमन्त्री बन्ने योजना छैन : प्रचण्ड

पर्सा, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री बन्ने योजना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकारको आलोचना गर्दै आफू २०८४ सम्म जनताकै साथमा रहने बताएका हुन् ।
प्रचण्डले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारीहरूलाई जोगाउनको लागि बनेको आरोप लगाएका छन् । उनका अनुसार ओली सरकारको उद्देश्य भनेको भ्रष्टाचारीलाई संरक्षण दिँदै राम्रो काम गर्नेहरूलाई सताउने र अपमानित गर्ने हो ।
‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्र हो । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो,’ प्रचण्डले भने ।
प्रचण्डले सरकारमा रहेका ठूला नेताहरूको भ्रष्टाचारलाई रक्षा गर्ने काम गरिरहेको र अराजकता र बेथिति बढाउने आरोप लगाए । उनले लेखा समितिको सभापति प्रचण्डको पार्टीलाई दिने चाहिएको स्थान अहिले नपाएको र प्रमुख विपक्षी दल माओवादीको अधिकारलाई सरकारले कमजोर बनाएको बताएका छन् ।
‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो । त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन् । तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ,’ प्रचण्डले भने ।
उनले वर्तमान सरकारको कामलाई भ्रष्टाचार बचाउने र अराजकता बढाउने कामको रूपमा चित्रित गर्दै यसबाट जनतामा नकारात्मक सन्देश जाने दाबी गरेका छन् ।
प्रचण्डले माओवादीको दृष्टिकोण सरकारमा र प्रतिपक्षमा हुँदा फरक नपर्ने जिकिर गरे । उनले भने, ‘हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेका थियौं । आर्थिक विकासको निम्ति गति दिने कुरामा हामीले सरकारमा हुँदा जोड दिएका थियौं ।’ उनले अहिलेको सरकारलाई जनताको हितमा काम नगर्ने र अराजकता बढाउने भनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


