२७१ थान मोबाइलसहित ७ जना पक्राउ

काठमाडौं, ८ चैत । काठमाडौंमा ठूलो मोबाइल चोरी गिरोहको पर्दाफास भएको छ । प्रहरीले २७१ थान मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरू विभिन्न जिल्लाका रहेको र उनीहरू विभिन्न स्थानहरूमा पाकेटमारी र चोरीको घटनामा संलग्न थिए ।
पक्राउ परेका व्यक्तिहरूमा काभ्रेका प्रमोद परियार (३५ वर्ष), गुनराज न्यौपाने (२६ वर्ष), रौतहटका हेमन्त राना मगर (३० वर्ष), दोलखाका शम्भु विश्वकर्मा (२८ वर्ष), सिन्धुपाल्चोकका राजेश चालिसे (२२ वर्ष), दोलखाका सबिन पाण्डे (२१ वर्ष) र काठमाडौंका प्रकाश कटवाल (२० वर्ष) रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
पक्राउ गरिएका व्यक्तिहरूबाट २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याबलेट बरामद गरिएको एसपी अपिलराज बोहोराले जानकारी दिए । बरामद मोबाइलहरूमा १८ थान आइफोन पनि समावेश छन् । प्रहरीका अनुसार यो गिरोहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा चोरी गरेका मोबाइलहरू बेच्ने गरेको पाइएको छ ।
पक्राउ गरिएको गिरोहका सदस्यहरू सार्वजनिक बसमार्फत यात्रुको मोबाइल पाकेटमारी गर्नमा संलग्न थिए । ठिमीबाट कोटेश्वर जाने क्रममा एक सार्वजनिक बसमा एक यात्रुको मोबाइल चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्दा ठूलो मात्रामा चोरीका मोबाइल र ल्यापटप बरामद भएका थिए ।
प्रहरीले सार्वजनिक स्थानमा चोरी र पाकेटमारीका घटनामा बढोत्तरी भएको भन्दै नागरिकलाई सतर्क रहन र आफ्नो सम्पत्ति सुरक्षित राख्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


