होलीका क्रममा हत्या भएका यादवको परिवारसँग सांसद ठाकुरको भेट, दोषीलाई कडा कारबाहीको प्रतिबद्धता

जनकपुरधाम, ७ चैत । होलीको दिन जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा छुरा प्रहारबाट हत्या गरिएका युवक आशु यादवको परिवारसँग प्रदेशसभा सदस्य दिपेन्द्र कुमार ठाकुरले भेटघाट गरेका छन् ।
भेटका क्रममा उनले दोषीलाई कडा भन्दा कडा कानूनी कारबाही गराउन आफू दृढ रहेको प्रतिबद्धता जनाएका छन् ।
प्रदेशसभा सदस्य ठाकुरले पीडित परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरे । यस दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै उनले न्याय दिलाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।
ठाकुरले यो अपराधलाई कानूनी रूपमा निष्पक्ष अनुसन्धान गराई दोषीलाई कडा सजाय दिलाउने आफ्नो दायित्व भएको र यस घटनाले समाजमा शान्ति कायम राख्न सबैले एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
घटना चैत २ गते होली खेल्ने विषयलाई लिएर विवाद भएपछि भएको थियो । आफ्नै साथीले १८ वर्षीय आशु यादवलाई छुरा प्रहार गरेका थिए । यादवको छाती, पेट र ढाडमा छुरा प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
प्रहरीले छुरा प्रहार गर्ने आरोपमा बिन्धीका २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


