जनकपुरधाम, ७ चैत । जिल्ला प्रहरी कार्यालय रौतहटले एसईई (माध्यमिक शिक्षा परीक्षा) परीक्षामा चिट चोराउने र सहयोग गर्ने दुई जनालाई नियन्त्रणमा लिई कानूनी कारबाही सुरु गरेको छ ।

प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट पैसा लिएर मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मिनिया मावि मौलापुरमा चिट पुर्याउने एक जनालाई पक्राउ गरिएको हो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूको नाम भने गोप्य राखिएको छ । अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए ।

मधेश प्रदेशका रौतहट, धनुषा, लगायतका जिल्लाहरूमा एसईईको पहिलो दिन परीक्षाको मर्यादा भङ्ग भएको तस्बिर र भिडियोहरू सार्वजनिक भएपछि प्रहरीले कडा कदम उठाएको हो । यी घटनाहरूले परीक्षाको विश्वसनीयतामा गम्भीर चुनौती खडा गरेको छ ।

एसईई परीक्षामा परीक्षार्थीहरूलाई अनुचित सहयोग गरिने क्रम बढ्दै गएपछि प्रहरी प्रशासनले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन कडाइ गरेको छ । प्रहरीका अनुसार चिट चोराउने मात्र नभई परीक्षार्थीहरूलाई अन्य अनुचित साधनको प्रयोग गराउन सहयोग गर्ने व्यक्तिहरूलाई पनि कानूनी कारबाहीको दायरामा ल्याइने छ ।