जनकपुरधाम, ७ चैत । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा डोम समुदायका दीपक मरिकको घर भत्काउने र उनीलाई उठीबास गराउने घटनालाई मधेश प्रदेशसभाका सांसदहरूले कडा शब्दमा निन्दा गरेका छन् ।

मधेश प्रदेशसभाको चौथो अधिवेशनको बिहीबार बसेको १८औं बैठकमा विभिन्न दलका सांसदहरूले शून्य समयमा बोल्दै यस घटनालाई मानव अधिकारको उल्लंघन भन्दै कारबाहीको माग गरेका हुन् । सांसदहरूले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित घटनामा संलग्न सबैलाई दण्डित गर्न र जातीय विभेदको अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् ।

सांसद निलमकुमारी रजकले भनिन्, ‘दलितको घर भत्काउने र उठीबास गराउनेलाई कडा कारबाही हुनुपर्छ । महायज्ञको नाममा घर भत्काउने यो घटनाले समाजमा असहिष्णुता र विभेदलाई बढावा दिएको छ ।’ उनले कानूनी कारबाहीको माग गर्दै दोषीलाई सजाय दिनुपर्ने बताइन् ।

माओवादीका प्रदेश सांसद माल कर्णले भनिन्, ‘उठीबास गराउनेमाथि कारबाही गर्नुपर्छ र डोम परिवारको पुनः बसोबासको उचित व्यवस्थापन गर्नु पर्छ ।’ उनले जातीय भेदभावलाई जरा मुनि दबाउन सरकारको ध्यान आकर्षण गरिन् ।

जनता समाजवादी पार्टी नेपालीकी सांसद ललिता पासवानले घटनालाई मानवता विरोधी र असहनीय बताएकी छन् । उनले सोधिन, ‘जनप्रतिनिधिहरूको यस किसिमको कार्यले कहिलेसम्म समाजलाई विभाजित गर्नेछ ? हामीलाई छुवाछुत र जातीय भेदभावको अन्त्य गर्न कडा कदम उठाउनुपर्ने समय आएको छ ।’

यसैगरी, नेकपा एमालेका सांसद लखन दास तत्माले डोम परिवारको घर भत्काउने कार्यलाई अमानवीय र असहिष्णु करार गर्दै सबै दोषी व्यक्तिलाई कानूनी कारबाही गर्ने माग गरेका छन् । ‘यस कार्यले हाम्रो समाजमा छुवाछुत र विभेदलाई पुनः बल दिएको छ । यसलाई मेटाउन तत्काल कारबाही आवश्यक छ,’ उनले भने ।

चैत १७ गतेदेखि सुरु हुने विष्णु महायज्ञको नाममा दीपक मरिकको घर भत्काएर अन्यत्र सारिएको छ । त्यहाँबाट दुई फिट माटो हटाइएको छ । त्यहाँ न बिजुली सुविधा छ । न खानेपानीको व्यवस्था गरिएको छ ।