जनकपुरधाम, ७ चैत । जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आधारभूत तह परीक्षा २०८१ को कक्षा ८ को परीक्षा भोलिदेखि सुरु हुन लागेको छ ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णका अनुसार चैत ८ गते अंग्रेजी, १० गते गणित, ११ गते नेपाली, १२ गते विज्ञान र प्रविधि, १३ गते सामाजिक अध्ययन र मानव मूल्य शिक्षा, १४ गते स्वास्थ्य, शारीरिक शिक्षा र सिर्जनात्मक कला र चैत १५ गते स्थानीय विषयको परीक्षा हुने भएको छ ।

परीक्षा दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म सञ्चालन हुने उनले जानकारी दिए । यस परीक्षा मार्फत कक्षा ८ का विद्यार्थीहरूको शैक्षिक प्रगति र शैक्षिक योग्यता मूल्याङ्कन गरिनेछ ।

शिक्षा शाखाले परीक्षा सकुशल सञ्चालन गर्नका लागि आवश्यक तयारी र व्यवस्थापन गरेको जनाएको छ ।

यसैबिच, जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका एसईई तथा आधारभूत तह परीक्षा केन्द्र भएका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई परीक्षा अवधिसम्म अनिवार्य रुपमा विद्यालयलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

परीक्षा अवधिभर कसैलाई पनि विना कारण बिदा स्वीकृत नगराउन तथा काज नछाड्न निर्देशनसमेत दिइएको छ ।