महोत्तरी, ६ चैत । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–८ स्थित टिकुलिया चोकमा सडक स्तरोन्नति योजना सञ्चालनलाई लिएर राजनीतिक विवाद चुलिएको छ ।

योजनाको स्वामित्व र कार्यान्वयनको जिम्मेवारी कसले लिने भन्ने विषयमा दलहरूबीच मनमुटाव उत्पन्न भएपछि शिलान्यास कार्यक्रम अवरोध भएको हो ।

मधेश प्रदेश सरकारले टिकुलिया बजारदेखि सहसौला जोड्ने सडक स्तरोन्नति योजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही योजनाको शिलान्यास गर्न भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव आउन लाग्दा नेकपा माओवादी केन्द्र समर्थित कार्यकर्ताहरूले अवरोध गरे । उनीहरूको दाबी अनुसार यो योजना माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साह अर्थमन्त्री हुँदा पारित भएको हुनाले यसको कार्यान्वयन अधिकार पनि उनीहरूसँग हुनुपर्छ ।

मन्त्री यादवले वडाबाट समिति गठन नगरी सिधै पालिकाबाट उपभोक्ता समिति निर्माण गरेर योजना सञ्चालन गर्न खोजेको भन्दै माओवादी केन्द्र समर्थित पक्ष असन्तुष्ट रहेको छ । उनीहरूले जनप्रतिनिधिहरूलाई समेत बेवास्ता गरिएको आरोप लगाएका छन् ।

असन्तुष्ट पक्षले नारा जुलुस निकाल्दै विरोध जनाएपछि तनावग्रस्त अवस्था सिर्जना भयो । स्थानीय प्रशासनले स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्यो ।

राजनीतिक दलहरूको आन्तरिक विवादका कारण विकास योजना अवरुद्ध भएकोमा स्थानीय बासिन्दा आक्रोशित देखिएका छन् । उनीहरू विकास योजनाहरूमा अनावश्यक राजनीति नगरिनु पर्ने धारणा राख्छन् ।

शिलान्यास पछि मन्त्री यादव प्रहरी सुरक्षा घेरामा स्थलबाट फर्किए । विवाद अझै मिल्न सकेको छैन । तर, प्रशासनले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको छ ।