संस्थागत विद्यालयलाई पाठ्यपुस्तक बिक्री नगर्न निर्देशन, उल्लंघन भए कारबाही गर्ने चेतावनी

जनकपुरधाम, २९ फागुन । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई पाठ्यपुस्तक, स्टेशनरी र पोशाक बिक्री नगर्न तथा तोकिएको स्थानबाट पोशाक खरिद गर्न विद्यार्थीहरूलाई बाध्य नगर्न निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख धीरेन्द्र लाल कर्णद्वारा जारी परिपत्रमा विद्यालयहरूलाई राष्ट्रिय पाठ्यक्रम परिषद/पाठ्यपुस्तक विकास केन्द्रद्वारा प्रमाणित पाठ्यपुस्तकहरू मात्र लागू गर्नुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
यस परिपत्रमा विद्यालयहरूलाई ७ दिनभित्र शैक्षिक सत्र २०८२ मा लागू हुने पाठ्यपुस्तकहरूको नामावली बुझाउन निर्देशन दिइएको छ । साथै, केही विद्यालयहरूले विद्यार्थी र अभिभावकलाई विद्यालयबाटै पाठ्यपुस्तक, स्टेशनरी र पोशाक खरिद गर्न बाध्य पारेको गुनासो नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाबाट प्राप्त भएको जनाइएको छ ।
परिपत्रमा निर्देशिका २०६९ को संशोधित प्रावधानअनुसार विद्यालयहरूले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने र विद्यार्थीहरूलाई निर्धारित ड्रेस कोडको नमुना मात्र उपलब्ध गराउनुपर्ने स्पष्ट गरिएको छ ।
विद्यालयले तोकेको स्थानबाट पोशाक खरिद गर्न अभिभावकहरूलाई बाध्य पार्नु नियमविपरीत रहेको र यस्ता कार्यहरूमा संलग्न विद्यालयहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
यदि नियम उल्लंघन भएको पाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयका संस्थापक र प्रिन्सिपलले लिनुपर्ने र उनीहरूमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।