मुकुमलुङ घटनामा राजेन्द्र महतोद्वारा छानबिनको माग

काठमाडौं, १५ फागुन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) सरकारद्वारा बिना कुनै कारण फिर्ता बोलाइएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको यो कदमप्रति आपत्ति जनाउँदै मुकुमलुङ घटनाबारे तत्काल छानबिन हुनुपर्ने माग राखेका हुन् ।
महतोले नेपाली सेनाले मुकुमलुङ घटनाबारे समयमै सरकारलाई सचेत गराएको भन्दै सेनालाई धन्यवाद दिए । उनले प्रहरी प्रशासनमाथि गम्भीर आरोप लगाउँदै मुकुमलुङ घटनाका क्रममा आफू र आफ्ना पार्टीका कार्यकर्तामाथि भएको कुटपिटबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।
महतोले ‘मुकुमलुङ बचाउ पदयात्रा’ पश्चात् फागुन ८, ९ र १० गते राज्यबाट भएको दमन मानवता विरुद्धको अपराध भएको आरोप लगाए । फागुन ८ गते ताप्लेजुङको एक होटलमा बस्दा जिल्ला प्रहरी प्रमुखले होटल व्यवसायीलाई धम्क्याएको दाबी गर्दै उनले प्रशासनले राति १२ बजे होटल छाड्न निर्देशन दिएको तर बाहिर निस्कँदा आक्रमण प्रयास भएको खुलासा गरे ।
उनले फागुन १० गते काफ्ले पाटीदेखि फुङलिङसम्म मशाल जुलुस प्रदर्शनका क्रममा प्रहरीको शङ्कास्पद हस्तक्षेपप्रति असन्तुष्टि व्यक्त गरे । उनले प्रहरी प्रशासनको भूमिकालाई रहस्यमय भन्दै स्वतन्त्र छानबिनको माग गरे ।
महतोले मुकुमलुङलाई आस्थाको, सांस्कृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण स्थल रहेको भन्दै त्यहाँ ‘नो केबलकार आन्दोलन’ भूमाफिया र दलालहरूको षड्यन्त्रको विरुद्ध आम जनताको संघर्ष रहेको बताए ।
उनले राज्य शक्तिको दुरुपयोग गर्दै जनताको आवाज दबाउने कार्य भइरहेको भन्दै सरकारको व्यवहार लोकतन्त्रविरोधी भएको आरोप लगाए । साथै, उनले सरकारको असंवैधानिक गतिविधिको भण्डाफोर गर्न आफ्नो पार्टी निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


