मिटरब्याज पीडितका लागि सरकारले ध्यान दिएन : प्रचण्ड

सुनसरी, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले मिटरब्याज पीडितका समस्यामा ध्यान नदिएको आरोप लगाएका छन् ।
आज सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले मिटरब्याज पीडितका लागि बनाइएको कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन नगरी वर्तमान सरकारले भ्रष्टाचार र माफिया समूहको पक्षमा काम गरिरहेको बताएका हुन् ।
उनले भने, ‘हामीले मिटरब्याज पीडितको समस्या समाधान गर्न कानूनी व्यवस्था बनाएका थियौं । तर, यो सरकारले त्यसको कार्यान्वयनमा कुनै ध्यान दिएको छैन ।’
उनले माओवादी नेतृत्वको सरकारले कृषि क्षेत्रमा सुधारका लागि गरेको काम र विद्यार्थीसम्म पाठ्यपुस्तक समयमै पुर्याउने कार्यलाई वर्तमान सरकारले ध्यान नदिएको आरोप पनि लगाए ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको अघिल्लो सरकारको कार्यकालमा नागरिकता विवाद समाधान गर्न नागरिकताबिहीन व्यक्तिहरूलाई नागरिकता दिने कानूनी व्यवस्था लागू गरिएको तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो पनि जनाए ।
प्रचण्डले वर्तमान सरकारको आलोचना गर्दै भने, ‘यो सरकार जनताको हक र अधिकार खोस्न चाहन्छ । संविधान संशोधनको बहानामा जनताको अधिकारलाई हानि पुर्याउन चाहन्छ । तर, जनताको शक्ति र एकता यो सम्भव नहुने प्रमाण हो ।’
मधेसको कृषिमा ठूलो सम्भावना रहेको भन्दै प्रचण्डले कृषि क्षेत्रको विकासका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याए । उनले कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्रहरू स्थापना गर्नुपर्ने कुरामा जोड दिए ।