जनकपुरधाम, १५ फागुन । निरन्तर विवादकाबीच जनकपुरधामको राराब कलेजमा आगामी चैत्र ५ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) को चुनावको लागि तयारी तीव्र हुँदै गएको छ ।

विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूले चुनावी प्रचार प्रसार तीव्र बनाएका छन् । चुनावी माहौलको तयारीका बीच राराब कलेजमा अहिले राजनीतिक दलका विद्यार्थी नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।

स्ववीयू चुनावका लागि प्रचार प्रसारले चुनावी माहौल ताताउने क्रममा केही दिनअघि मात्र दुई दलका शिक्षकबीच कुटाकुटको घटना बाहिरिएको थियो । यस्तै, विभिन्न दलका विद्यार्थी नेताहरूले पनि चुनावी माहोललाई तताएका छन् ।

यस अवस्थामा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघको नेतृत्व राराबमा रहेको छ भने केही महिना अगाडी राजर्षि जनक विश्वविद्यालयको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोविसंघले बाजी मारेको थियो । यसपाली राराबमा लोविसंघको चर्चा अझ बढेको छ ।

यसपटक राराब कलेजमा माओवादी, जसपा नेपाल, एमाले लगायतका अन्य दलका विद्यार्थी नेताहरूले पनि आफ्नो चुनावी तयारी सुरू गरेका छन् । यो चुनाव दोस्रो पटक हो र यसमा पार्टीगत भन्दा व्यक्तिगत मतमा पनि धेरै विद्यार्थी नेताहरू अग्रस्थानमा देखिएका छन् । यस्ता विद्यार्थी नेताहरूले पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने मनसाय पनि बनाएका छन् ।

कसैलाई पार्टीले टिकट दिए शतप्रतिशत जित्ने दाबी गरिरहेका छन् भने केही विद्यार्थी नेताहरू पार्टीले टिकट बेचेको आरोप लगाउँदै बागी उम्मेदवारीको तयारीमा जुटेका छन् । यसरी चुनावी माहौलमा गहिरो तनाव देखिएको छ ।

रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा चैत ५ गते हुने स्ववीयू चुनावको लागि निर्वाचन समिति गठन गरिएको छ । १३ सदस्यीय यस निर्वाचन समितिमा निर्वाचन अधिकृतको जिम्मेवारी उपप्रध्यापक धीरेन्द्रकुमार यादवलाई दिइएको छ । यस समितिमा अन्य सदस्यहरूसँगै उपप्रध्यापक गुलजार राउत, उपप्रध्यापक दिलिपकुमार राय, उपप्रध्यापक ज्ञानेन्द्रकुमार मल्लिक, प्राध्यापक डा. संजयकुमार, उपप्रध्यापक भरतलाल कर्ण लगायतका शिक्षाविदहरू रहेका छन् ।

राराब कलेजमा स्ववीयू चुनावको तयारीको बीच चुनावी प्रचार प्रसारको क्रममा ठूलो तनाव देखिएको छ । निर्वाचन समितिको गठनपछि अब चुनावी प्रक्रिया औपचारिक रुपमा अघि बढ्ने निश्चित भएको छ ।

यससँगै, स्थानीय विद्यार्थी नेताहरू र संगठनहरूले चुनावी प्रचार प्रसारमा तीव्रता ल्याएका छन् भने यसले राराब कलेजको राजनीतिक वातावरणलाई अझ परिष्कृत र प्रतिस्पर्धी बनाएको छ ।