सर्लाही, १३ फागुन । सर्लाहीको मलंगवा नगरपालिका–८ नजिक भारतीय नागरिकबाट स्रोत नखुलेको साढे ७ लाख रुपैयाँ बरामद भएको छ ।

भारतको बिहार राज्यको सितामढी ग्राम पञ्चायत बिसनपुर–१५ का २२ वर्षीय युवक चन्दन कुमार महतो पक्राउ परेका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका–८ क्षेत्रमा चेकजाँचको क्रममा भारतीय मोटरसाइकल (नम्बर बी.आर.३० एबी ९१८३) चलाई रहेका महतोको पाइन्टमा राखिएको सन्देहास्पद रकम प्रहरीले बरामद गरेको हो ।

सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार महतोकासाथबाट कुल ७ लाख ५८ हजार ३१० रुपैयाँ बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानमा महतोले उक्त रकमको स्रोत स्पष्ट गर्न नसकेपछि उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको छ । प्रहरीले यस घटनालाई लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।

स्रोत नखुलेको रकम बरामद भएका महतोलाई भन्सार नियमावली अनुसार कानूनी कारवाही अघि बढाइने छ ।