पर्सामा मिटरब्याजविरुद्धको कारबाहीमा ५६ बिघाभन्दा बढी जग्गा फिर्ता

पर्सा, १३ फागुन । पर्सामा मिटरब्याजविरुद्धका कारबाहीहरूले ठूलो सफलता पाएको छ । प्रहरीले ५६ बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराएको छ ।
मिटरब्याज पीडितले ३१ करोड ६० लाख रुपैयाँभन्दा बढीको राहत स्वरुप पाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबारसम्म कुल २ हजार २ सय ३८ उजुरी प्राप्त भएका थिए । यसमा १ हजार ३ सय ३ उजुरीमा मिलापत्र भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट १ हजार ६ सय ६३ उजुरी प्राप्त भएका थिए । २ सय २० प्रशासन र १ हजार ८३ उजुरी प्रहरी कार्यालयमा मिलापत्र भएको जानकारी प्राप्त भएको छ । हालसम्म ९ सय ६ उजुरीमा मेलमिलाप हुन बाँकी रहेको छ ।
पर्सा प्रहरीले मिटरब्याजविरुद्धको कारबाहीमा अन्य मधेश प्रदेशका जिल्लासँग तुलना गर्दा सबैभन्दा बढी उजुरीको समाधान गरेको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास भट्टका अनुसार मिटरब्याजी प्रायः कम रकम दिएर पीडितसँग कागजातमा धोका गर्ने प्रवृत्ति देखिन्छ । त्यस्तो अवस्थामा कपाली तमसुक र बैंक चेकको माध्यमबाट पीडितसँग थप शोषण गर्ने काम भइरहेको पाइन्छ ।
पर्सामा मिटरब्याजका घटनामा पीडितहरुले सन्देश दिएका छन् कि सापट दिएको रकमको दोब्बरी र तेब्बरी रकम लेखेर पीडितलाई धोका दिने र पछि ब्याजको रकम पनि सँगै गाभेर अधिक मिटर ब्याज कसम कुदाउने प्रवृत्तिले पीडितको जीवन अस्तव्यस्त बनाइरहेको छ ।
तर, केही उजुरीकर्ता आफै सम्पर्कविहीन भएका कारण उनीहरुको उजुरीको छानबिन प्रक्रिया अघि बढाउन समस्या उत्पन्न भएको बताइएको छ । पीडक भनिएका व्यक्तिलाई राजीनामा पास गरी जग्गा फिर्ता गराउन पनि समस्या आएको र उनीहरुको पक्षबाट अदालतमा निषेधाज्ञा रिट दायर गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा छानबिनमा थप जटिलता आएको डिएसपी भट्टले उल्लेख गरेका छन् ।
‘प्रहरीसमक्ष सहमति गरेर जाने तर दुवै पक्ष घर पुगेर सहमतिमा नअडिने प्रवृत्तिले पनि समस्याहरू सिर्जना गर्दैछ,’ भट्टले भने ।
अदालतबाट फैसला भइसकेका मुद्दाहरूमा पनि प्रहरीलाई कानुनी जटिलताका कारण समस्याहरू परेको र मिटरब्याजविरुद्धको संघर्ष अझै जटिलतासँग भरिएको छ ।