दुई समुदायबीच भएको झडपमा २० जना घाइते

नवलपरासी, १३ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा सोमबार साँझ दुई समुदायका बीचमा भएको झडपमा २० जना घाइते भएका छन् ।
झडपमा ५ जना स्थानीय, १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झडपको क्रममा स्थानीयले प्रहरीको गाडीमा आगजनी गरेका छन् ।
प्रहरीका अनुसार झडपको कारण समुदायका दुई युवा युवती बीचको प्रेम विवाह थियो । करिब ४ महिना अगाडि फरक समुदायका बीचको विवाहले विवादको जन्म दिएको थियो । र, सो विवाद शनिबारको दिन गाडीले एक व्यक्तिलाई ठक्कर दिएको विषयमा उग्र बन्यो । गाडीको ठक्करसँगै विवादको स्थिति झन जटिल बन्यो ।
नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनाबारे जानकारी दिँदै भने, ‘गाडीले ठक्कर दिएको विषयलाई लिएर दुई समुदाय बीचको विवाद थालिएको हो । जब यो विवाद बढ्न पुग्यो प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेका थिए । विवादको बीचमा गाडीलाई जलाउने कार्य पनि भएको छ ।’
स्थानीयले प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरेका थिए । यस घटनापछि ग्यारेज नजिकैको घरमा रहेको व्यक्ति बचाउन गएका प्रहरीको गाडीमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । घटनामा घाइते भएका विजय धवल र बैजनाथ प्रसाद लोहनियालाई उपचारको लागि अस्पताल पठाइएको छ ।
घटनापछि स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा थप सुरक्षा व्यवस्थापन गर्दै छन् । अहिले स्थिति सामान्य रहेको र थप अनुसन्धान जारी रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् ।
घटनाका कारण क्षेत्रको शान्ति र सुरक्षा प्रभावित भएको हुँदा प्रशासनले यस घटनालाई समयमै नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।