अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले खाए विष, उपचारका क्रममा मृत्यु

मकवानपुर, १३ फागुन । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।
काठमाडौँको कलंकीस्थित एक निजी अस्पतालमा सोमबार उपचारको क्रममा उनको मृत्यु भएको हो । ३६ वर्षीय थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए ।
काठमाडौँ प्रहरी परिसरका अनुसार थापा कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेर अचेत अवस्थामा फेला परेका थिए । उनीलाई तत्काल अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार थापाले विषादी सेवन गर्नुअघि कोठामा आफू एक्लै थिए । यस घटनामा संलग्न अन्य व्यक्तिहरूको बारेमा कुनै विवरण प्राप्त भएको छैन । साथै, मृतक थापाको साथबाट एक पेजको पत्र पनि बरामद भएको छ । पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरिएको छ ।
रवि थापाले गत शुक्रबार मन्त्री श्रेष्ठसँग काठमाडौँ यात्रा गरेका थिए । उनले आइतबार काठमाडौँमै छोरीको जन्मोत्सव मनाएका थिए । त्यसपछि राती १० बजे आफ्ना परिवारसँग सम्पर्कविहीन भएका थिए ।
उनको नाम सुमेरु सहकारीसँग सम्बन्धित एउटा सार्वजनिक अडियो क्लिपसँग जोडिएको शंका पनि प्रहरीले गरेको छ । यस अडियोमा सुमेरु सहकारीका पूर्व सचिव विनोद आचार्यसँगको वार्तालापमा थापाको नाम आएको हो ।
सुमेरु सहकारीको विवादको बारेमा सार्वजनिक भएको अडियो क्लिपको विषयमा प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीले अडियो क्लिप परीक्षण गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूसँग पनि अनुसन्धान जारी राखेको छ ।
प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले भने, ‘थापाको मृत्युपछि हामी अनुसन्धान गर्दैछौं । कोठामा प्राप्त पत्र र अडियो क्लिपलाई ध्यानमा राख्दै थप प्रक्रिया अघि बढाइने छ ।’
मन्त्री मदुकुमार श्रेष्ठका अनुसार मृतक थापाको पत्रमा उनले सुमेरु सहकारीसँगको समस्यालाई मिलाउनका लागि अडियो सम्पादन गरेर आफ्नो बेइज्जत गरिएको उल्लेख गरेका थिए ।
मन्त्रालयले गत पुस २८ मा सुमेरु सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राखेको थियो । त्यसपछि उक्त सहकारीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


