जनकपुरधाम, १३ फागुन । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले स्वदेशमा युवाहरूको रोजगारीका लागि वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

उनले नेपालको कृषि क्षेत्रको पोटेन्सियल र यसका सम्भावनाहरूलाई विशेष रुपमा उल्लेख गर्दै सही उपयोग गर्न सकिएमा देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने जोड दिएका छन् ।

आज महेन्द्रनारायण निधिको १०४औं जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले नेपालको १७ लाख हेक्टर कृषि योग्य भूमि रहेको जानकारी दिँदै यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिएमा ४० करोड जनसंख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने दाबी गरे ।

डा. कोइरालाले नेपाली काँग्रेसको नेतृत्वको महत्व पनि उल्लेख गर्दै पार्टीले शिक्षा, स्वास्थ्य, सञ्चार र सडक पूर्वाधारको क्षेत्रमा धेरै सुधार ल्याएको उल्लेख गरे । उनले महामानव महेन्द्रनारायण निधिको संघर्ष र त्यागको महत्व युवा पुस्तामा बुझाउन आवश्यक रहेकोसमेत बताए ।

उनले भने, ‘आजको दिनमा हामीले युवा शक्ति र श्रमको सदुपयोग गरी मुलुकलाई समृद्ध बनाउनको लागि ठूलो चुनौतीको सामना गर्दैछौं ।’ डा. कोइरालाले युवा पुस्तालाई स्वदेशमा नै भविष्य निर्माण गर्नका लागि प्रेरित गर्दै शिक्षा र रोजगारीका अवसरहरूको सृजनामा काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादवले स्वर्गीय महेन्द्रनारायण निधिको योगदानको कदर गर्दै भने, ‘गान्धीवादी नेता महेन्द्रनारायण निधिको नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान थियो । त्यसको प्रभाव आज पनि महसुस भइरहेको छ ।’

महेन्द्रनारायण निधिको संघर्ष र त्यागलाई सम्मान गर्दै उनका विचार र योगदानलाई सम्मानित गर्दै आगामी दिनहरूमा नेपालको समृद्धिको लागि युवा शक्ति र काँग्रेसको नेतृत्वको संयुक्त प्रयासको आवश्यकता रहेको वक्ताहरुले बताएका थिए ।