माईती नेपालद्वारा नेपालबाट भारततर्फ जाँदै गरेका १ सय २ जना बालबालिकाको उद्धार

जनकपुरधाम, ११ फागुन । माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १ सय २ जना बालबालिकालाई उद्धार गरेको छ ।
माईती नेपालले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे र बसमार्गबाट धनुषा र महोत्तरीका सीमाना हुँदै भारततर्फ गइरहेका बालबालिकाहरूसँगै ५३ जना १८ वर्ष मुनिका र ४९ जना १८ वर्ष माथिका बालबालिकालाई उद्धार गरिएको जानकारी दिएको हो ।
माईती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले उद्धार गरिएका १ सय २ जनालाई सुरक्षा आवासमा राखिएको बताए । यसमा १८ वर्ष मुनिका ४६ जना र १८ वर्ष माथिका ५४ जना बालबालिका रहेको उनले जानकारी दिए । उद्धार गरिएका १ सय ७२ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको बताइएको छ ।
संस्थाले एक वर्षको अवधिमा ८ हजार ३ सय ८२ बसको चेकजाँच गरी मानव बेचबिखनसम्बन्धी ५ हजार १ सय ९२ जनचेतनामूलक सूचना पनि प्रवाहित गरेको जनाएको छ ।
नेपालमा मानव बेचबिखन सम्बन्धी कानून कडा भए तापनि विभिन्न प्रलोभन र दलालहरूको कारण यो जघन्य अपराध निरन्तर बढिरहेको छ । मानव बेचबिखनमा संलग्न भएमा २० वर्षसम्मको जेल सजाय र २ लाख रुपैयाँको जरिवाना सजायको व्यवस्था गरिएको छ । यसैगरी वेश्यावृत्ति गराउनेलाई १० देखि १५ वर्षसम्मको कैद र ५० हजार रुपैयाँको जरिवाना पनि कानुनी प्रावधानमा उल्लेख गरिएको छ ।
माईती नेपालले २३ जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । देशभर १८ सुरक्षा आवास गृह, ३ रोकथाम गृह, पुनस्र्थापना केन्द्र, स्नेह गृह, विद्यालय र वाल संरक्षण गृह जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण साहनी, ईन्सेकका प्रमुख राजु पासवान र शान्ति पुनस्र्थापना केन्द्रका प्रमुख रिना झाले मानव बेचबिखन नियन्त्रणका लागि अधिक नियमन र जनचेतनामूलक कार्यक्रमहरूको आवश्यक्तामा जोड दिए ।
नेपालमा वर्षेनी ३५ हजार भन्दा बढी मानव बेचबिखनको घटना भइरहेका छन् । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


