काठमाडौं, ११ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई तत्काल जिम्मेवारीबाट हटाउन नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

मन्त्री खड्काले पत्रमार्फत प्राधिकरणलाई निर्देशन दिँदै भनेका छन्, ‘दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र यसका मन्त्रीविरुद्ध गैरजिम्मेवार ढंगले सामाजिक सञ्जालमा विरोध गरेका छन् । यस कारण उनलाई तत्काल जिम्मेवारीबाट हटाई मन्त्रालयलाई जानकारी गराउनुहोस् ।’

मन्त्रालयको निर्देशनपछि प्राधिकरणको सञ्चालक समितिले पनि यो विषयमा छलफल गरेर निर्णय लिएको बताइएको छ । गुरुङलाई २०८१ सालको साउन महिनामा दूधकोशी जलाशय जलविद्युत् आयोजनाको मुख्य जिम्मेवारी सुम्पिएको थियो ।

उनले २६ वर्षको लामो कार्यकालमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गत विभिन्न जलविद्युत् परियोजनामा काम गर्दै तामाकोशी परियोजना सफल बनाएका थिए । त्यसपछि उनलाई ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना प्रमुखको जिम्मेवारी दिइएको थियो ।

तामाकोशी परियोजनामा व्यवस्थापक र इन्जिनियरका रूपमा महत्त्वपूर्ण भूमिका निभाएका गुरुङ अब ऊर्जामन्त्रीको आलोचनाको कारण आफ्नो जिम्मेवारीबाट हटाइने सम्भावना देखिन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘मन्त्रीको दबाब स्वीकार नगरी विमल गुरुङलाई दूधकोशी जलविद्युत् आयोजनामा निरन्तरता दिएका छन् ।’

गुरुङ अहिले एसियाली विकास बैंकसँगको सहकार्यमा दूधकोशी आयोजना निर्माणको तयारीमा जुटेका छन् । उनी साइटमै रहेर वित्तीय व्यवस्थापनको काम पनि टुंगोमा पुर्याइसकेका छन् ।