जनकपुरधाम, ११ फागुन । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु कुमारी सदालाई न्यायको माग गर्दै विभिन्न दलित संघ र संगठनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ धनुषाले सडक अवरोध गरी एक घण्टासम्म धर्ना दिएका थिए ।प्रदर्शनकारीहरूले दलित समुदायमाथि बारम्बार ज्यादती भइरहेका बेला सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

धर्नामा सहभागी दलित अगुवाहरूले सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्री कार्यालयको मुख्यद्वारसम्म नाराजुलुस पनि निकाले । त्यहाँ पुगेपछि उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेट्ने प्रयास गरेपनि उनले भेट्न अस्वीकार गरेको जनाए ।

दलीत अगुवा रामो महराले भने, ‘हामीले मुख्यमन्त्रीसँग रिंकु सदाको विषयमा चाँसो नदेखाएकोमा आक्रोश व्यक्त गरेका हौँ ।’ उनले भने, ‘मुख्यमन्त्री सिंहले अनुगमनको नाममा जिल्लामा पुग्न सक्छन् । तर, एउटा दलित समुदायको घरमा पुग्न उनलाई अप्ठेरो पर्छ भने त यो के भएको हो?’

प्रदर्शनकारीहरूले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेशी आयोगलाई पनि चासो नदिएको आरोप लगाउँदै आक्रोश व्यक्त गरे । उनीहरूले यी संस्थाहरूले अहिलेसम्म कुनै चासो नदेखाएको बताए । रिंकु सदालाई बलात्कार गर्ने तीन जना र मिलापत्र गर्ने पञ्चको समेत कडा सजाय नदिइन्जेल हामी विरोध गर्न नरोक्ने उनीहरूको चेतावनी थियो ।

नगरमा नाराजुलुस गर्दै प्रदर्शनकारीहरूले मानव अधिकार आयोग र प्रदेश प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । रिंकु सदाको हत्या र बलात्कारको घटनामा न्यायको माग गर्दै उनीहरूले प्रहरी प्रशासनबाट कडा कदम उठाउन पनि आग्रह गरेका छन् ।

रिंकु कुमारी सदाको मृत्यु २०७९ सालको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा भएको थियो । यसअघि रिंकुले आफ्नो गाउँका तीन युवकले आफूलाई बलात्कार गरेको कुरा बताएकी थिइन् । घटनापछि गाउँमा पञ्चायत बसेर तीन युवकलाई १ लाख ५० हजार रुपैयाँ तिर्ने निर्णय गरिएको थियो । यद्यपि, रिंकु र उनका परिवारलाई सो निर्णय असह्य भएको थियो ।

यस घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । एसएसपी शान्तिराज कोइरालाले भने, ‘हामीले पञ्चायतमा सहभागी केही व्यक्तिहरूसँग सोधपुछका लागि नियन्त्रणमा लिएका छौं । यसबाहेक, जाहेरी परेका व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ ।’ रिंकुका परिवारले हालै इलाका प्रहरी कार्यालय लहानमा सामूहिक जबरजस्ती करणी, कर्तव्य ज्यान, शरीर बन्धक र मिलापत्र लगायत चारवटा मुद्दामा पूरक जाहेरी दिएका छन् ।

एसएसपी कोइरालाले भने, ‘यो घटनामा प्रारम्भिक रूपमा आत्महत्या दुरुत्साहनको मात्र जाहेरी गरिएको थियो । अहिले भने चारवटा आरोपमा पूरक जाहेरी दर्ता भएको छ ।’

रिंकु कुमारी सदाको घटनाले दलित समुदायका अधिकार र न्यायका विषयमा गम्भीर सवाल उठाएको छ । दलित संघ संगठनहरूले सरकार र प्रहरी प्रशासनबाट तत्काल न्यायको माग गरेका छन् । उनीहरूले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न आग्रह गरेका छन् ।