सिरहामा दुईवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सिरहा, ११ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया र धनगढीमाइमा आज दुई गम्भीर सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
एक जनाको ट्रक र पिकअप भ्यानको भिडन्तमा र अर्का एकजनाको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको घटनामा मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार मिर्चैया नगरपालिका–७ स्थित एक ट्रक र पिकअप भ्यानको ठोक्काइमा पिकअप भ्यानका सहचालक २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो ।
मिलन सिन्धुलीको दुधौली नगरपालिका–१४ का थिए । यस दुर्घटनामा पिकअप भ्यानका चालक सागर सुनार गम्भीर घाइते भएका छन् । चालकको अवस्था गम्भीर भएको र उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
त्यसैगरी, धनगढीमाइ नगरपालिका–१० स्थित कसहाबाट लहानतर्फ गइरहेको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा मोटरसाइकल चालक ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ । उनी मिर्चैया नगरपालिका–५ का स्थायी बासिन्दा थिए ।
प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।